१० पुष २०८१, बुधबार

लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन


आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार सङ्कलन भएको जनाएको छ ।

गत आवको यही अवधिमा रू आठ अर्ब ७८ करोड ५१ लाख ९३ हजारअर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । सो वर्ष छ महिनाका लागि रू ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार छ महिनामा आयकरतर्फ रू एक अर्ब २० करोड ९२ लाख एक हजार, अन्तःशुल्कतर्फ रू छ अर्ब ६५ करोड २६ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

मूल्य अभिवृद्धि करतर्फ रू ८४ करोड सात लाख नौ हजार, ब्याज कर रू पाँच करोड ७८ लाख ९९ हजार, घरबाहल कर रू एक करोड ९५ लाख ८८ हजार र स्वास्थ्य सेवा कर रू ९३ लाख २५ हजार सङ्कलन भएको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तःशुल्क सङ्कलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको हो ।