मानवलाई सहज जीवनयापन गराउन, इच्छा, आवश्यकताहरू पूूरा गर्न, सुखी, शान्त, आत्मनिर्भर र समृद्ध जीवनयापनलगायतका लागि अपरिहार्य चिज हो शिक्षा । प्राविधिक होस् या अप्राविधिक । यसले मानिसलाई सहज र एउटा श्रेणीको जीवन जिउने आधार प्रदान गरेको हुन्छ । त्यस्तै, राष्ट्र र राष्ट्रियताप्रति निष्ठावान्, मूल्य मान्यताप्रति प्रतिबद्ध, स्वाभिमानी, सामाजिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने, चरित्रवान्, नैतिकवान् एवम् जिम्मेवार नागरिक तयार गर्ने एउटा आधार भनेकै शिक्षा हो ।
विश्वको धेरै परिवेश र नेपालको पनि व्यवस्था हेर्यौं भने शिक्षालाई तह–तहमा वर्गीकरण गरिएको छ । जस्तो कि, प्राथमिक तह, आधारभूत तह, माध्यमिक तह र सोभन्दा माथिका उच्च शिक्षा । विगतको तथ्यांकलाई अध्ययन गर्ने हो भने विश्वविद्यालयहरूमा विद्यार्थीहरूको चाप उच्च थियो, भर्नाका लागि प्रतिस्पर्धा पनि हुन्थ्यो । मुख्यतयाः राजनीतिक, आर्थिक कारणले नेपालमै उच्च शिक्षा लिनमा विद्यार्थीहरूको विकर्षण बढेको छ ।
उच्च शिक्षामा विद्यार्थीहरूको विकर्षणले यस्तो देखाउँछ कि नेपालमा अब शिक्षा पढेर भविष्य बन्नेवाला छैन । नेपालमा करियर छैन, भविष्य छैन, पढेर सकेपछि पनि बेरोजगार नै रहनुपर्छ । प्रतिस्पर्धा धेरै छ । एउटा उदाहरण दिउँ, स्नातकोत्तर (मास्टर डिग्री) सकेर बसेको एउटा विद्यार्थी खरिदार (एसएलसी)ले दिन पाउने परीक्षा दिइरहेको हुन्छ । प्राविधिक पढेर सकेका जनशक्तिहरू केही सीप नलागेर कोरियन भाषाको फर्म भर्ने ठाउँ, खाडी देशहरूमा जानका लागि अन्तर्वार्तामा लाइन लागेर बसेको धेरै देख्न सकिन्छ ।
जीवनको झन्डै २७–२८ वर्ष नेपालमा पढेर बिताएका लाखौँ विद्यार्थीहरूको भविष्य अन्यौल छ । कैयौं बेरोजगार छन् । कलेजको मार्कसिट बिक्ने ठाउँ कतै पनि बाँकी छैन । यस्तो अवस्थाले के सिर्जना गर्ला ?
कलेजमा आएका विद्यार्थीहरू पनि स्नातक तहमा टिकेका छैनन् । १२ कक्षा उत्तीर्ण ५० प्रतिशत विद्यार्थीको रोजाइ विदेश छ । कक्षा एकमा भर्ना भएका विद्यार्थी संख्याबाट गणना गर्दा स्नातक तहको भर्नादर लगभग १५ प्रतिशत रहेको छ । यस्तो तथ्यांक केलाउँदा नेपालमा उच्च शिक्षाको बिचल्ली छ । नेपालमा शिक्षाको सम्भावना छैन, विद्यार्थीहरूका लागि यस्तो लाग्छ कि यहाँ पढेर भविष्य उज्यालो छैन, बरु अन्धकार छ ।
नेपालमा शिक्षाको सम्भावना छैन भनिरहँदा कारण केलाउनुुपर्ने हुन्छ । मूलतः नेपालमा विद्यमान प्रचलित हालको उच्च शिक्षा समय सान्दर्भिक छैन । व्यवहारिक र प्रयोगात्मक शैलीको छैन । शिक्षा समयअनुसार परिवर्तन हुन नसक्नु नेपाल र नेपाली विद्यार्थीका लागि एकदमै गम्भीर विषय हो । शिक्षा प्रणाली परम्परागत शिक्षण प्रणालीबाट लम्कन सकेको छैन । जसको कुनै व्यावहारिक प्रयोग हुन सक्दैन । अर्थात् थुप्रै डिग्रीहोल्डर पनि बेरोजगार नै रहनुपर्ने बाध्यता हामीकहाँ छ ।
त्यसो त नेपालमा गुणस्तरीय प्राविधिक एवं व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवम् डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठूलो लगानी आवश्यक रहेको देखिएको छ । तर, उपलब्ध स्रोत, साधन बजेटको उच्च प्रतिफल आउने हिसाबमा परिचालन गरेर शिक्षा प्रणालीमा सुधार गर्दै विद्यार्थीको आकर्षण केन्द्र बनाउन भने सकिन्छ ।
विद्यार्थी बाहिरिने समस्या तथा देशका लागि दक्ष जनशक्ति उत्पादन नहुनु या उत्पादनको अनुपात घट्दै जानु राज्यका लागि एकदमै खतराको घन्टी बज्ने संकेत हो । यसका लागि तत्कालिन, अल्पकालिन तथा दीर्घकालिन रणनीति बनाएर कार्यान्वयन गर्नुको कुनै विकल्प छैन ।
नेपालमा नै उच्च शिक्षा लिन विद्यार्थीहरूको आकर्षण नरहेको तथा नेपालका विश्वविद्यालयहरूमा विद्यार्थीहरू नभएर खाली हुने संकेत देखिरहेको यो बेलामा अब नेपालमा नै उच्च शिक्षाको व्यवस्था तथा भविष्य निर्माण गर्ने कार्यमा जुट्नुको विकल्प छैन । व्यावहारिक शिक्षाको खोजी र कार्यान्वयन तत्काल कार्यान्वयन गर्ने, राजनीतिक प्रतिबद्धता र प्रशासनिक तत्परतालाई व्यवहारमा उतार्ने, प्रविधिको विकास गर्ने शिक्षामा लगानी गर्ने, शिक्षणका आधुनिक प्रणालीहरू, उपयोगी पाठ्यपुस्तकको व्यवस्था गर्ने, पाठ्यक्रम र अन्य शैक्षिक साधनहरूको व्यवस्थापन, उच्च शिक्षाको व्यवस्थापनको लागि आवश्यक तथ्याङ्कन व्यवस्थापन, विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेपको अन्त्य गराउने, पाठ्यक्रम अद्दावाधिक गर्ने, करियर परामर्श र मार्गदर्शनका कार्यक्रमहरू संचालन गर्ने, रणनीतिक योजना र पाठ्यक्रम विकास गर्नेजस्ता कार्यहरू गर्न सकियो भने नेपालमा उच्च शिक्षा एक गुणस्तरीय बन्न पुग्ने देखिन्छ ।
हरेक विद्यार्थीको इच्छा तथा चाहना भनेको अध्ययन गरिसकेपछि स्वरोजगार र आत्मनिर्भर बन्ने रहेको हुन्छ । नेपालको पढाई समग्रमा हेर्दाखेरी सिद्धान्तमा मात्र आधारित रहेको छ । जसको अर्थ डिग्री हासिल गरेपछि पनि बेरोजगारमा नै सिमित हुनुपर्छ । अन्य देशको अभ्यासलाई आत्मसात गरेर भए पनि शिक्षालाई व्यावहारिक बनाउनतर्फ ध्यान दिइयो भने पक्कै पनि यसले विद्यार्थीहरूको चाहनालाई आकर्षित गर्छ फलस्वरूप नेपालमा उच्च शिक्षाको लागि विद्यार्थीको आकर्षण पक्कै गर्छ ।
हरेक देश, हरेक सरकार हरेक क्षेत्रलाई कुन तरिकाबाट चलाउने, शिथिल पार्ने कि तन्दुरुस्त बनाउने अर्थात हरेक पक्षहरूमा हाबी हुने भनेको प्रमुख चिज हो राजनीति । देश, शिक्षा प्रणाली, हरेक क्षेत्रहरू नीतिमार्फत चलेको हुन्छ ।
नेपालमा प्राविधिक शिक्षा पढेका हरेक विद्यार्थीहरू अझै पनि नेपालमा आफ्नो सीप प्रयोग गर्ने अवसर नपाउँदा विदेशिएको तथ्यांक टन्नै छ । आफूसँग भएको सीप प्रयोग गरेर स्वदेशमा नै आत्मनिर्भर बन्न नपाउँदा यो देशमा किन पढ़ेछु भन्ने पछुतोसमेत विद्यार्थीहरूलाई छ । यसमा राजनीति मात्र होइन प्रशासनिक क्षेत्रमा नातावाद कृपावाद जस्ता समस्याहरूले जड बसालेको छ । यसले थप विद्यार्थीहरूको मनोवैज्ञानिकमा भित्रैदेखि असर पारेको छ । फलस्वरूप विद्यार्थीहरूको उच्च शिक्षाको मोह नेपामा नभएर विदेशमा छ । यसलाई सुधार गर्नका लागि सरकाले तत्काल रणनीति बनाएर कार्यान्वयन गर्न जरुरी रहेको छ ।
चीन, जापान, अमेरिका, जर्मनीलगायत विश्वका अन्य देशहरू हेर्यौं भने उनीहरूले शिक्षामा आकर्षण गराउन शिक्षामा लगानी गरेका छन् । शिक्षामा लगानी बढाएर विद्यार्थीहरूको आकर्षण बढाउनु अहिलेको मुख्य आवश्यकता हो । जीवन व्यवहारमा आधारित शिक्षा नहुँदा नेपालको शिक्षा बेकामे बन्न पुगेको छ । तथ्यांक संकलन गरेर विद्यार्थीहरूको आवश्यकता र रुचीअनुसार विद्यार्थीमैत्री शिक्षामा लगानी गर्न सकियो भने नेपालमै उच्च शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ ।
उच्च शिक्षामा विद्यार्थीहरूको आकर्षण गर्न तत्काल शिक्षणका आधुनिक प्रणालीहरू, उपयोगी पाठ्यपुस्तक तथा शैक्षिक साधनाहरूको व्यवस्थापन तत्काल गर्नुपर्ने देखिन्छ । विश्वले अभ्यास गरिरहेको शिक्षा प्रणालीलाई आत्मसात गरियो भने नेपालमा विद्यार्थीहरूले उच्च शिक्षा लिनका लागि अग्रसर हुनेछन् ।
कुनै पनि समस्याको समाधान गर्न सर्वप्रथम उक्त समस्या पत्ता लगाउनु पहिलो आवश्यकता हो । देशमा विद्यार्थीहरूको तथ्यांक के रहेको छ ? कुन संकायमा कति विद्यार्थीहरूको रुची छ, अर्थात् समग्रमा संकलन गर्नुपर्ने तथ्यांकहरू सरकारले गरेको छैन । कुनै पनि सरोकारवाला निकायहरूलाई यसको कुनै प्रवाह नै छैन । जसले गर्दा एक किसिमको अन्यौलता सिर्जना गरेको छ । यसको चिरफार भएर आवश्यक कदम चालेमा समस्या समाधान गर्न सकिन्छ ।
कुनै पनि विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन । शैक्षिक क्षेत्र विशुद्ध प्राज्ञिक नेतृत्वमा सञ्चालित हुनु, गरिनु पर्दछ । तर, नेपालको अवस्था भने पहिलेदेखि नै फरक रहँदै आएको छ । पहिलो विश्वविद्यालय त्रिवि २०१६ कै प्रथम पदाधिकारी नियुक्तिदेखि राजनैतिक हस्तक्षेपले निमोठेको थियो । विश्वविद्यालयहरूमा हुने यस्तो हस्तक्षेपका कारण निर्धारित लक्ष्य उद्देश्य हासिल गर्न गाह्रो हुन्छ । विश्वविद्यालयहरूले आफ्नो शैक्षिक गुणस्तरमा ध्यान दिनुभन्दा पनि बढी आफ्नो स्वार्थ केन्द्रीत रहेको हुन्छ । जसले गर्दा गुणस्तरीय शिक्षा प्रवाह हुने सक्दैन । यो समस्या तत्काल समाधान गर्नसके नेपालमा उच्च शिक्षाको महत्व बढ्न सक्छ ।
प्रविधि, विज्ञान र अन्य क्षेत्रहरूमा भएको प्रगतिलाई समावेश गर्न नियमितरूपमा पाठ्यक्रम अपडेट गर्नुपर्ने नेपालको आवश्यकता हो । यसो गर्न सकेमा केही हदसम्म नेपालमा नै उच्च शिक्षामा विद्यार्थीहरूको आकर्षण बढाउन सकिन्छ । विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक र व्यावसायिक मार्गहरूको बारेमा सूचित निर्णयहरू गर्नको लागि एक बलियो क्यारियर परामर्श प्रणाली स्थापना गरेर पनि नेपालमा उच्च शिक्षाको लागि आकर्षण गर्न सकिन्छ ।
विद्यार्थीहरूलाई सम्भावित क्यारियर अवसरहरूमा अन्तरदृष्टि प्रदान गर्न शैक्षिक संस्थाहरूलाई उद्योगहरूसँग जोड्न सकिन्छ । त्यस्तै, कार्यशालाहरू र सेमिनारहरूको व्यवस्था गरेर पेशेवरहरूले आफ्ना अनुभवहरू र अन्तर्दृष्टिहरू विद्यार्थीहरूसँग शेयर गर्न सक्छन् । जसबाट नेपालमा उच्च शिक्षाको महत्वलाई विद्यार्थीहरूले बुझेर सोहीअनुसार मार्गदर्शन गर्न सक्छन् ।
रणनीतिक योजना भनेको संगठनमा परिणामहरू प्राप्त गर्न लक्ष्यहरू सेट गर्ने, रणनीतिहरू विकास गर्ने र स्रोतहरू बाँडफाँट गर्ने प्रक्रिया हो । नेपालमा यसको अभ्यासलाई विधिपूर्वक लागु गर्न सकिने हो भने शिक्षाको गुणस्तर वृद्धि गर्न सकिन्छ साथै, उच्च शिक्षामा विद्यार्थीहरूलाई आकर्षण गर्न सकिन्छ । त्यस्तै, अन्तरक्रियात्मक र व्यावहारिक सिकाइ विधिलाई व्यवहारमा उतार्नुपर्छ ।
अतः नेपालमा उपलब्ध स्रोत साधनहरूको अधिकतम प्रयोग गरेर, शिक्षामा नवीनतम व्यवस्थाहरू गरेर, विश्वविद्यालयहरूलाई राजनीतिक कुदृष्टिबाट टाढा राखेर, समय सान्दर्भिक पाठ्यक्रमहरूको व्यवस्था गरेर, भविष्यमा विद्यार्थीहरूलाई आत्मनिर्भर गराउन सक्ने प्राविधिक शिक्षाहरूको पहुँच विस्तार गरेर नै नेपालमा उच्च शिक्षालाई अझै उचाइमा पुर्याउन सकिन्छ ।