२८ जेष्ठ २०८२, सोमबार

औलो, डेङ्गु र कालाज्वार नियन्त्रणका लागि विषादी छर्न स्वास्थ्यकर्मी परिचालन


दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका भरमा औलो, डेङ्गु र कालाज्वार नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको छ। यी रोगका बिरामी साउन भदौ महिनामा देखिने भएको कारण त्यसको नियन्त्रण गर्न पुर्व सावधानी अपनाउनका लागि विषादी छर्कने कार्य गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको हो।

ताँजाकोट गाउँपालिकाका पाँच वटै वडामा औलो, डेङ्गु र कालाज्वार नियन्त्रणका बिश्व स्वास्थ्य संगठनले सिफारिस गरेको विषादी लेम्डासाई हेडियोलिङ्क दश प्रतिशत छर्ने कार्य भएको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए।

यी रोगको लक्ष्यण भएका बिरामी देखिने समय सुरु भएको कारण पुर्व सावधानी अपनाउने विषादी छर्ने कार्य गरिएको होे। यो विषादी घरको भित्ता र गल्ली गल्लीमा छर्कने गरिन्छ। एक पटक छरेपछि छ महिनासम्म रोग नियन्त्रण गर्न सकिने भएको कारण अब आगामी कातिक महिनासम्म यस पटक छरेको विषादीले रोग नियन्त्रण गर्ने छ।

विषादी छर्ने कार्य भएको र अब ती रोगको स्थानीयवासीलाई परिक्षण गरिनेछ। औलो र कालाजारको उच्च जोखिम भएकाले किटजन्य रोग मुक्त गाउँपालिका बनाउन यो कार्य गरिएको हो। गतवर्ष साउन भदौमा ताँजाकोट गाउँपालिकामा शाखाले गाउँपालिकाभर औंलो र कालाजारका बिरामीहरूको परीक्षण गर्ने कार्य गरेको थियो। सो क्रममा औंलोका दुई जना मध्ये २ नम्बर वडाका एक जना बाहिर बाटै सरेर आएको र वडा नम्बर ५ का एक जनाको त्यही लामखुट्टेले टोक्दा रोग देखा परेको थियो भने वडा नम्बर २ मा एक जना कालाजारका बिरामी भेटिनु भएको थियो।

कर्णाली प्रदेशको अन्य जिल्लाहरूमा आयातित रोग देखिएको भए पनि हुम्लाको ताँजाकोटमा मात्रै स्थानीय स्तरमै देखा परेको यो रोग ताँजाकोटमा मात्रै भेटिएको हो।