जीवाणु (ब्याक्टेरिया)मार्फत् हुने एक किसिमको सङ्क्रमण हो। यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ।
यो रोगको सजिलै उपचार हुन्छ। तर यदि उपचार नगरिए केही घण्टामै यसका कारण मृत्यु पनि हुन सक्छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हैजालाई “गरिबीको रोग” भनी व्याख्या गरेको छ। यसले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ।
अफ्रिका र एशियाका विभिन्न देश तथा क्यारिबीअन क्षेत्रको हेइटीमा बस्ने मानिसहरू यसबाट बढी प्रभावित भएको पाइएको छ।
डब्ल्यूएचओको अनुमानअनुसार प्रत्येक वर्ष यो रोगका करिब १३ देखि ४० लाख बिरामीहरू देखिन्छन् र विश्वभरि २१ हजारदेखि १४३,००० मानिसहरूको मृत्यु हुने गर्छ।
हैजा के कारण हुन्छ?
‘भिब्रिओ कोलरी’ भनिने ब्याक्टेरियाका कारण हैजाको सङ्क्रमण हुन्छ।
यसले सानो आन्द्रामा विषाक्त पदार्थ बनाउँछ, जसका कारण शरीरले धेरै मात्रामा पानी निकाल्छ। त्यसले गर्दा पखाला लाग्छ र गम्भीर अवस्थामा शरीरबाट धेरै मात्रामा नुन तथा तरल पदार्थ बाहिर निस्किन्छ।
सङ्क्रमण भएको खास गरी १२ घण्टादेखि पाँच दिनभित्र लक्षण देखिन्छन्।
यद्यपि डब्ल्यूएचओका अनुसार सङ्क्रमित ८० प्रतिशतभन्दा बढी मानिसमा लक्षण देखिँदैन।
लक्षण देखिने २० देखि ३० प्रतिशतमा भने केही दिनभित्रै पखाला लाग्ने र शरीरमा पानीको मात्रा असाध्यै कम हुने हुन्छ। यदि यसको उपचार नगरिए यसका कारण मानिसको मृत्यु नै हुन सक्छ।
लक्षणहरू केके हुन्?
हैजाको सङ्क्रमण भएपछि देखिने लक्षणहरू यस प्रकार छन्:
पखाला लाग्नु र सेतो पातलो दिसा हुनु (यसलाई ‘चौलानीजस्तो’ भनेर पनि व्याख्या गरिन्छ)
बिरामी हुनु वा बिरामी भएको जस्तो महसुस हुनु (घण्टौँसम्म बान्ता हुनु, खास गरी सङ्क्रमणको प्रारम्भिक चरणमै हुने गर्छ)
पेट दुख्नु
खुट्टा दुख्नु
लक्षण देखिएको केही घण्टाभित्र नै शरीरमा पानीको कमी हुन्छ र त्यो सामान्यदेखि गम्भीर अवस्थामा पुग्छ। शरीरमा पानी कम हुनुको सङ्केतहरूमा थकान, गाडिएका आँखा, सुख्खा मुख, एकदमै प्यास लाग्नु, छाला सुख्खा हुनु, पिसाब नलाग्नु, रक्तचाप कम हुनु र अनियमित मुटुको धड्कन पर्छन्।
शरीरमा पानी कम हुँदा त्यसले रगतमा खनिज पदार्थ एकदमै कम भएर जान्छ। यसलाई ‘इलेक्ट्रलाइट असन्तुलन’ भन्छन् । BBC