९ पुष २०८१, मंगलवार

सत्ता समीकरण: ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव


काठमाडौँ । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ;र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केही दिन देखि लगातार संवाद भइराखेको छ ।

देशका दुई ठुला राजनीतिक दलका प्रमुख बीच भएको भेटवार्ताले अरु दलमा तरंग त ल्याएको छ नै,  उनीहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपले हेरिएको छ । प्रधानमन्त्री बन्न देउवाले ओलीलाई प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार देउवाले ओलीलाई बालकोट पुगेर नै प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन् । उनी शनिबार झन्डै २ घण्टाभन्दा बढी ओली संग छलफल गरेका थिए ।

जवाफमा ओलीले अझै केही दिन छलफल गरेर निष्कर्षमा पुगौं भनेर भनेको स्रोतको दाबी छ ।

उनीहरुको छलफलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आत्तिएका छन् ।  बेलाबेलामा सरकार कसैले भत्काउन नसक्ने र आफूले उथलपुथल गर्न सक्ने अभिव्यक्ति दिंदै हिंडेका प्रचण्ड अहिले साच्चै नै तनावमा छन् ।

बजेटका साथै मुख्यसचिव, धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका विषयलाई लिएर ओली प्रचण्डसँग असन्तुष्ट छन् । उता, प्रचण्डले राजदूत नियुक्तिसहित अन्य विभिन्न विषयमा एमालेले किचलो गर्दै आएकामा असन्तुष्ट छन् । प्रचण्ड र ओलीबीचको दूरी बढ्दै गएका बेलामा देउवाले ओलीलाई भेट्नुलाई सत्ता गठबन्धन फेरबदर हुन लागेको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।

अहिले कांग्रेससँग सहकार्य गरेर आफैँमाथि अप्ठ्यारो परिस्थिति सृजना गर्न स्वयं एमाले अध्यक्ष ओलीले पनि नचाहेको पनि नेताहरुले बताएका छन् ।