काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति गरेपछि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् ।
नेपाली काँग्रेसले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने विषयलाई पनि अनुमोदन गरिसकेको छ ।
सरकार र सत्ताका लागि दाहालले कहिले एमाले त कहिले काँग्रेसलाई धोका दिंदै आएका छन् । तर योपटक भने सिनारियो फेरिएको छ । दुई ठुला दल मिलेर सरकार बनाउने घोषणा गरिसकेका छन् ।
केही समय अगाडी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले पटक–पटक दलहरुलाई धोका दिएको बताएका थिए । पछिल्लो पटक कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग गठबन्धन गर्दा पनि प्रचण्डले धोका दिएको उनले बताए ।
लेखकले संसदमा प्रचण्डलाई व्यंग्य गर्दै भने, ‘एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौसँग टाप ठोक्ने काम उथलपुथल होइन । यो शोभनीय हुँदैन ।’
माओवादीले धोका दिन बाँकी कुनै पार्टी नरहेको निष्कर्षमा आफू पुगेको भन्दै लेखकले धोका पाएकाहरु सबै एक ठाउँमा उभिए तपाईं कहाँ पुग्नु होला भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरे । ‘म त कुन निष्कर्षमा पुग्या छु भने अब धोका दिन कोही बाँकी रहेन । तर एकचोटी सोच्नुस् यी जम्मै धोका पाएका एक दिन एक ठाउँमा उभिए तपाईंका विरुद्ध भने कहाँ पुग्नुहोला ?’ लेखकले प्रश्न गर्दै भने, ‘खाली ख्याल गर्नुहोला, हेक्का राख्नु होला । यति मात्र आग्रह हो ।’
लेखकले यसो भन्दा कांग्रेस सांसदहरुले टेबुल ठोकेर समर्थन जनाए । सभामुख देवराज घिमिरेले पनि मन्तव्य छोट्याउन आग्रह गरेका थिए ।