काठमाडौँ । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो।
अघिल्लो मुख्यसचिव बैठकुण्ठ अर्याल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि सरकारले गड्तौलालाई असार ३१ गते कायम मुकायमको जिम्मेवारी दिएको थियो।
गड्तौला २०७७ कात्तिकमा सचिवमा बढुवा भएकी थिइन्।
उनी २०६३ सालमा उपसचिव, २०७० सालमा सहसचिव र २०७७ साल कात्तिकमा सचिवमा भएकी थिइन्। उनले १७ वर्ष कानुन मन्त्रालयमा मात्रै काम गरेकी थिइन्। तर पहिलो महिला कानुन सचिव हुने अवसर भने पाइनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलोपटक महिलाले पाएको भन्दै नवनियुक्त मुख्यसचिव गड्तौलालाई बधाई दिएका छन्।
“देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई! आजको मन्त्रिपरिषद बैठकले सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ। नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई,” उनले सामाजिक सञ्चालमा लेखेका छन्।
यसअघि सरकारले उनलाई असार ३१ गते कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।