त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा आएका भारतीय उद्धार टोली फर्किएको छ।
नेपाल सरकारको अनुरोधमा एक साता अघि चितवन आएको भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ) को १२ जनाको टोली आइतबार फर्किएको हो
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनले एक कार्यक्रमकाबीच बिदाइ गरेको हो। एक सातासम्मको खोजीमा ठोस उपलब्धि नभए पनि प्राविधिक कुरामा फाइदा नै भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
‘अहिलेसम्म केही भएन भन्न मिल्दैन। भारतीय टोलीले दुई वटा पोइन्ट लोकेटेट गरेको अवस्था छ’, प्रजिअ यादवले भने ‘त्यहाँ भोलिदेखि नेपाली टोलीले खोजी कार्यलाई निरन्तर जारी राख्छ।’ भारतीय टोलीले घटना स्थल सिमलतालदेखि गाइघाटसम्मको तीन किलोमिटरलाई शंकाको घेरामा राखेको छ।
सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता र बसको खोजीका लागि घटना भएको दिनदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले निरन्तर खोजी गरिरहेको छ।
नेपाली टोलीले नसकेपछि भारतबाट उच्च प्रविधि ल्याएर एक सातासम्म खोजी गरिएको थियो। तर, नदीको तीव्र गतिका कारण खोजिकार्यमा समस्या भएको प्रजिअ यादवले बताए।
‘भारतीय टोलीले फिर्ता भएको तीन दिनपछि रिपोर्ट दिँदै छ। अहिले भारतीय टोलीले हामीलाई भनेअनुसार अनुमान गरिएको भन्दा नदीको गहिराई बढी हुनु, नदीको गति तीव्र हुनु, थप क्षमताको मोटरबोर्ड नहुनु जस्ता कारण छन्,’ उनले भने।
त्रिशूली नदीको गहिराई एक सय ५० फिटभन्दा बढी रहेको उनले बताए। यो गहिराईमा ८० केजीको चुम्बक आवश्यक पर्ने उनले बताए। खोजीको क्रममा एनडिआरएफले ल्याएको १९ किलाको चुम्बक त्रिशूली नदीमा समेत हराएको छ।
भारतीय टोलीले १९ किलो र १४ किलोको चुम्बक मगाएको थियो। भारत र नेपालमा भएका उच्च प्रविधिको प्रयोग त्रिशूलीमा गरिएको उनले बताए।
खोजिकार्यका लागि आधुनिक किसिमको वाटरड्रोन (सोनार क्यामेरा), ड्रोन क्यामेरा, र्याफ्टिङ बोट, मोटरबोट, चुम्बक, फलामको हुक लगायतका प्रविधिहरु प्रयोग गरिएको थियो। यहाँ प्रयोग भएका बोटसमेत सानो हुँदा खोज्न समस्या भएको प्राविधिक टोलीको भनाई छ।
चितवनको सिमलतालमा बस दुर्घटना भएको १७ दिन बितेको छ। गत असार २८ मा वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा बेपत्ता भएको थियो।
दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्य ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए।
दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ। ती मध्ये १९ जना यात्रुको मात्र शव फेला परेको छ।
नारायणीमा फेला परेका पाँच वटा शवको अझै पहिचान हुन सकेको छैन। अझै ४३ यात्रु बेपत्ता छन्। अब उनीहरुलाई मृतक सरह मानेर राहत दिने तयारी भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।
‘अब शव फेला परेर पनि सनाखत गर्न सक्ने अवस्थामा हामी देख्दैनौँ’, उनले भने ‘दुर्घटनामा बेपत्ता भएको १० दिनसम्म पनि भेटिएन भने मृतक सरह मान्ने भनेको छ। त्यही अनुसार अब राहत दिन लाग्छौँ।’
उनका अनुसार, बिमा बाहेक प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराइने छ। तर, एउटै परिवारका एकभन्दा बढी व्यक्तिको मृत्यु भएमा दुई लाखबाट प्रतिव्यक्ति एक/एक लाख थप उपलब्ध गराइने छ।
राहत रकम कहाँबाट उपलब्ध गराउने भन्ने विषयमा मन्त्रालयबाट निर्णय हुन बाँकी छ। संभवत सम्बन्धित व्यक्तिको जिल्लाबाट हुने उनले बताए। दुई वटा बसमा सबैभन्दा बढी रौतहट जिल्लाका नागरिक रहेका छन्।
यस जिल्लाका २७ जना यात्रु बेपत्ता भएका थिए। त्यस्तै भारतका १०, पर्सा जिल्लाका १०, बाराका ६, सर्लाहीका ४, चितवनका २ भक्तपुरका १, सिन्धुपालचोकका १ जना व्यक्ति बेपत्ता भएको प्रशासनको तथ्यांकमा उल्लेख छ।
सरकारले दिने राहत रकममा केही समस्या नभए पनि यातायात व्यवसायीबाट हुने साढे पाँच लाखको बिमा रकम दाबी गर्न बेपत्ता यात्रुका आफन्तलाई समस्या हुने देखिएको छ। मृत्यु दर्ता नभएकाहरूको हकमा यातायात व्यवसायी र बिमा कम्पनी बिच समन्वय गर्ने तयारी भएको प्रजिअ यादवले बताए। नागरिक दैनिक