७ पुष २०८१, आईतवार

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदै


सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ।

एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः कास्की जिल्ला अदालतमा उनलाई उपस्थित गराउन लागेको हो।

लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत हुन्। गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ। प्रहरीले रविसँग थप बयान लिने तयारी गरेको छ।

सांसद् सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन समितिले  रवि प्रबन्ध निर्देशक भएका बेला पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गएको प्रतिवेदन दिएको थियो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बुधबार विज्ञप्ति जारी गरेर संसदीय छानबिन समितिले नै लामिछाने सहकारीको बचत अपचलनमा संलग्न नरहेको र सहकारीबाट ऋणसमेत नलिएको प्रतिवेदन दिएको, तर राजनीतिक प्रतिशोध साधेर बदनियत राखी सरकारले पक्राउ गरी हिरासतमा राखेको उल्लेख गरेका छन् ।

‘यो पक्राउ प्रकरणमा राजनीतिक प्रतिशोध र बदनियत देखिएकाले पक्राउपश्चात् देशका विभिन्न क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, शुभचिन्तक तथा न्यायप्रेमी नागरिकहरूले विरोध प्रदर्शन गरिरहेका छन् । उक्त विरोध र आन्दोलन कुनै आधार र कारण नै नभई गैर–कानुनी रूपमा निर्दोष व्यक्तिलाई पक्राउ गर्ने राजनीतिक पूर्वाग्रह र प्रतिशोधको खेलविरुद्ध हो भन्ने सबैमा स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेपछि रास्वपाका नेता–कार्यकर्ताले राजनीतिक प्रतिशोध भन्दै प्रदर्शन गर्दै आएका छन् ।