७ पुष २०८१, आईतवार

उर्जामन्त्रीसँगको टकरावपछि निरिह बनेका कुलमानले रोजे अर्को बाटो :२८ उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार


नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले खाता रोक्का गर्न पत्राचार गरेका हुन् ।

मंगलबार विद्युत् नियमन आयोगले उद्योगमा विद्युत् कटौती गर्नेबाहेकका अन्य विकल्प प्रयोग गर्दै बक्यौता उठाउन प्राधिकरणलाई पत्राचार गरेपछि उद्योगहरूको खाता रोक्का गर्न लागिएको बताइएको छ ।

२८ उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार

सञ्चालक समितिका अध्यक्ष तथा ऊर्जामन्त्री दीपक खड्काले वैकल्पिक उपायबाट उद्योगहरूसँग पैसा उठाउने भन्दै अहिलेलाई लाइन नकाट्ने बताएपछि घिसिङले सो उपाय अपनाएको बताइएको छ ।

घिसिङले बक्यौता बाँकी रहेका उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम उल्लेख गरेर नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका बताइएको छ ।

पत्रमा बक्यौता नबुझाउने उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउनेगरी रोक्का राखी बक्यौता महसुल असुल उपर गर्न सहयोग गरिदिन कम्पनी रजिस्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि अनुरोध गरिएको छ ।

पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको नाम र बक्यौता रकम पनि उल्लेख गरिएको छ । बैंक खाता रोक्का गर्ने पत्राचारको जानकारी घिसिङले नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएका छन् ।

प्राधिकरण स्रोतका अनुसार डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न बाँकी उद्योगको आईपीओ निस्कासन प्रक्रिया रोक्न आग्रह गर्दै नेपाल धितोपत्र बोर्डलाई समेत पत्राचार गरिएको छ ।