७ पुष २०८१, आईतवार

बैंकमा थुप्रिएर बसेको तरलतालाई लगानीमा रुपान्तरण गर्छौंः अर्थमन्त्री पौडेल


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएर बसेको ७ खर्ब रुपैयाँको तरलतालाई लगानीमा रुपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन् ।

सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । अर्थमन्त्री पौडेलले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रुपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने,रोजगारी सिर्जना गर्ने र व्यवसायीहरुको मनोबल उच्च रुपमा बढाउने विषयमा बढी केन्द्रीत भएर काम गरिरहेको बताए।

उनले अर्थतन्त्रलाई सुधारका लागि सरकारले गरेको प्रयासले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिएको दाबी गरे । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई सुक्ष्म रुपमा विश्लेषण गरी समाधानका उपायहरु कार्यान्वयनमा ल्याएकाले केही सुधार भएको बताए ।