काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ ।
आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले बैंकले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको हो ।
उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौंको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन गर्ने जनाएको छ । उक्त बजारको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले गरेका हुन् ।
प्रमुख कार्यकारी अधिकृत रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्नु हाट बजारको प्रमुख उद्देश्य रहेको बताए ।
हाट बजारले अर्ग्यानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए ।