
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन्।
३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। उनले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे।
‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं। यसको मुख्य प्रेरणा जनयुद्ध नै हो,’ उनले भने, ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौं।’
दाहालले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहिरहने समेत बताएका छन्। उनले जनयुद्धलदाई मेटाउने प्रयास गरेमा खरानी हुने चेतावनी समेत दिएका छन्। उनले भने, ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो। यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ। यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ।’
जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले यी सबै प्रयास असफल पार्न आफूहरूले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताए।