
नेपाल राष्ट्र बैंकको बहालवाला गभर्नर अवकाशमा गइसकेपछि पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन ।
सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिलेका कारण गभर्नर नियुक्त हुन नसकेको हो । राष्ट्र बैंक ऐनको व्यवस्थामा बहालवाला गभर्नरको पद सकिनु एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गरेर सार्वजनिक सूचना जारी गर्नुपर्ने हुन्छ ।
गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा पूर्व गभर्नर डा. बिजयनाथ भट्टाराई र विज्ञ अर्थशास्त्री विश्व पौडेल सम्मिलित समिति बनेको छ ।
उक्त समितिले गभर्नरका लागि ३ जना योग्य उम्मेदवार मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने म्यान्डेट पाएको थियो ।
तर एक सदस्यका अनुसार अहिलेसम्म समितिको बैठकसम्म बस्न सकेको छैन ।
‘बैठक नै बसेको छैन, कसरी सिफारिस गर्ने ?’ ती सदस्यको प्रश्न छ । उनले यदि राजनीतिक भागवण्डाका आधारमा कोही उम्मेदवारलाई अघि बढाएको पाए आफूले अस्वीकार गर्ने पनि बताए ।
महाप्रसाद अधिकारी आजैको दिनबाट अवकाशमा जाने भएपनि गत शुक्रवार नै उनले राष्ट्र बैंकबाट विदाई लिइसकेका छन् ।
अहिलेसम्म सरकारले कामु गभर्नर पनि तोक्न सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भागवण्डा नमिलेको भन्दै विभिन्न सञ्चारमाध्यमहरूले गभर्नर नियुक्तिको विषय उठाएका छन् ।