
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ । सिफारिस समितिबाट विजयनाथ भट्टराई बाहिरिएपछि पूर्व गभर्नर महाप्रसाद अधिकारी समितिमा आउने बलियो सम्भावना छ ।
डा. भट्टराईले मंगलवार नै समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् । यो घटनाक्रमले डेपुटी गभर्नर बमबहादुर मिश्रलाई गभर्नरको दौडमा अगाडि ल्याएको छ ।
समितिको कुनै बैठक नबसेको र बिचौलियाहरूले उम्मेदवारहरूको नाम चलाएको भन्दै डा. भट्टराईले असहमति जनाएका थिए ।
केन्द्रीय बैंकजस्तो सम्मानित संस्थाको नेतृत्व चयन प्रक्रियालाई हल्का बनाइएको उनको गुनासो थियो । राष्ट्र बैंक ऐनले गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ ।
तर, चैत २४ मा महाप्रसाद अधिकारीको कार्यकाल सकिए पनि सरकारले समयमै यो जिम्मेवारी पूरा गरेन ।
भट्टराईको राजीनामाले समितिमा नयाँ पूर्व गभर्नर ल्याउनुपर्ने अवस्था आएको छ । समितिमा डा. विश्व पौडेल अर्का सदस्य छन् । एमालेनिकट पूर्व गभर्नरमा सत्येन्द्रप्यारा श्रेष्ठ, युवराज खतिवडा र महाप्रसाद अधिकारीको नाम आए पनि श्रेष्ठ स्वास्थ्यका कारण समितिमा अटाउने सम्भावना कम छ ।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भएकाले खतिवडालाई समितिको सदस्यमा बस्न नैतिक संकट आइपर्न सक्छ । यो परिस्थितिले डा. भट्टराईको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले समितिमा सदस्यको रूपमा प्रतिनिधित्व गर्न बाटो खुलेको छ ।
अधिकारीले समिति सदस्यको जिम्मेवारी लिए भने गभर्नर सिफारिस प्रक्रियामा नयाँ मोड आउनेछ ।
तर, यो प्रक्रियालाई बिचौलियाहरूको चलखेल र राजनीतिक हस्तक्षेपले विवादास्पद बनाएको छ ।
यसअघि काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति बनेको चर्चा भएको थियो ।
भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट परिसकेको छ भने २० वर्षअघि महान्यायाधिवक्ता कार्यालयले कार्यकारी निर्देशकलाई गभर्नर बनाउन नहुने भनी प्रधानमन्त्रीलाई दिएको राय पनि सार्वजनिक भइसकेको छ । यस्तो अवस्थामा भट्टको सम्भावना थप क्षीण भएको छ ।
डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले आफूभन्दा कनिष्ठलाई गभर्नर बनाउन नहुने भन्दै सक्रिय लबिङ गरिरहेकी छन् ।
गभर्नरको रेसमा केही दिनअघि सम्म निलम ढुंगाना अग्रपंक्तिमा थिइन् । ओली-देउवा सहमति बाहिरिएसँगै ढुंगानाको सम्भावना पनि क्षीण भएको छ ।
अदालती प्रक्रिया र विगतको नजीरका कारण भट्टको सम्भावना क्षीण हुँदै गर्दा गभर्नरमा डेपुटी गभर्नर बमबहादुर मिश्रले बाजी मार्न सक्ने आंकलन आर्थिक वृत्तमा तीव्र भएको छ ।
शुरुआतदेखि नै मिश्र कांग्रेस या एमाले कतैतिर पनि खुलेका थिएनन् । अन्तिम अवस्थामा मिश्रलाई नै समातेर गभर्नरको जिम्मेवारी दिन देउवा तयार हुन सक्ने कांग्रेसका केही नेताहरूको अनुमान छ ।
यद्यपि मिश्रमाथि आफूभन्दा सिनियर डेपुटी रहेकी ढुंगानालाई दुर्व्यवहार गरेको आरोप पनि लागेको छ । महिला आयोगले त मिश्रलाई यस मामिलामा दोषीसमेत ठहर्याएको छ ।
महिला आयोगले मुख्य दोषी ठहर गरेका थानेश्वर आचार्यलाई प्रशासकीय अदालतले पुनर्बहाली गरिसकेको छ । अदालतको सोही आदेश देखाएर मिश्रले आफूलाई यस मामिलामा चोख्याउने प्रयास गरिरहेका छन् ।