१३ बैशाख २०८२, शुक्रबार

राष्ट्रिय धरोहर संरक्षक माण्डव्यलाई नागरिक सम्मान


नेपाली संस्कृति, सम्पदा र राष्ट्रिय चिन्हहरूको संरक्षणमा लामो समयदेखि सक्रिय रहँदै आएका सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्यलाई नागरिक समाजले ‘विशेष नागरिक क्रीयसन अवार्ड–२०८२’ द्वारा सम्मान गरेको छ ।

नेपाल सरकारका रक्षामन्त्री मानविर राईको प्रमुख आतिथ्यतामा तथा राष्ट्रिय पोशाक दिवस स्थापनामा भूमिका खेलेका माण्डव्यलाई राष्ट्रिय नाचघर, जमलमा आयोजित समारोहका क्रममा नागरिक अभिनन्दन गरिएको हो । उक्त समारोहमा राष्ट्रिय धरोहर संरक्षण अभियान सञ्चालन गर्दै आएका माण्डव्यलाई ‘राष्ट्रिय धरोहर संरक्षक’ विधामा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष याम बहादुर जिसीले गरेका थिए । कार्यक्रममा विविध क्षेत्र र विधामा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।

सम्मानितहरूमा उपरथी बाबुराम श्रेष्ठ, शिलापत्रका प्रमुख कार्यकारी अधिकृत बलराम श्रेष्ठ, अभियन्ता आशिका तामाङ, गायक हरिदत्त फुलारा, ‘इन्द्रेणी’ कार्यक्रमका सञ्चालक कृष्ण कंडेल, संगीतकार रिदम कंडेल लगायत रहेका छन् ।

सम्मान ग्रहणपछि माण्डव्यले आफूले प्राप्त गरेको सम्मानलाई गौरवको रुपमा लिएको र यसले थप राष्ट्र सेवामा उर्जा थपिएको बताएका छन् । विगत एक दशकदेखि माण्डव्यले राष्ट्रिय पोशाक संरक्षण, राष्ट्रिय पोशाक दिवस तथा राष्ट्रिय झण्डा दिवस स्थापनाका लागि निरन्तर पहल गर्दै आएका छन् ।