३० भाद्र २०८२, आईतवार

काठमाडौं जिल्ला अदालतमा एकीकृत कानूनी सेवा केन्द्रको ऐतिहासिक थालनी


सबै नागरिकलाई न्यायमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित काठमाडौं जिल्ला अदालत र जिल्ला अदालत बार एशोसिएसनको संयुक्त पहलमा आजबाट असहाय र विपन्न वर्गलाई लक्षित गर्दै एकीकृत कानूनी सेवा केन्द्रको औपचारिक शुभारम्भ गरिएको छ।

न्यायमा पहुँच अझ प्रभावकारी बनाउने लक्ष्यसहित अदालतको भूइँतल्लामा स्थापना गरिएको यस सेवाकक्षमा वैतनिक वकिल, कानूनी सहायता अधिकृत र प्रो–बोनो (स्वेच्छिक रूपमा निःशुल्क सेवा दिने) कानून व्यवसायीहरुको सेवा एउटै ठाउँमा उपलब्ध गराइएको छ।

काठमाडौं जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलप्रसाद पोखरेल, काजिअ बार अध्यक्ष रामचन्द्र पौडेल ‘आरसी बिमल’ र जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले संयुक्तरूपमा उद्घाटन गरेका उक्त केन्द्रमा अब सेवा खोज्न फरक–फरक कार्यालय धाउनुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ।

कानून व्यवसायीको प्रतिनिधित्व गर्दै अध्यक्ष पौडेलले भने, “अदालतको दोश्रो तल्लामा रहेका वैतनिक वकिल र अलग ठाउँमा कार्यरत कानूनी सहायता अधिकृतबाट सेवा प्रभावकारी ढंगले दिन समस्या आएको थियो। त्यसैले सबै सेवा एकै ठाउँबाट दिन यो एकीकृत सेवा केन्द्रको अवधारणा ल्याइएको हो।”

नयाँ सेवाकक्षको बाहिर नै प्रो–बोनो वकिलहरूको नामसूची समेत टाँसिनेछ जसले सेवाग्राहीहरुलाई आफूलाई उपयुक्त वकिल छनौट गर्न सहज हुने बताइएको छ।

हाल वैतनिक वकिलको रुपमा किशोर खत्री ‘कपिल’ र कानूनी सहायता अधिकृतको रुपमा अधिवक्ता माया घिमिरे कार्यरत छन्।

यसअघि केही हप्ता मात्र काठमाडौं जिल्ला अदालतमा आकस्मिक स्वास्थ्य सेवा केन्द्र पनि सञ्चालनमा ल्याइएको थियो जसले सेवाग्राही, कानून व्यवसायी, कर्मचारी र न्यायाधीशहरुलाई स्वास्थ्य आपतकालिन अवस्थाको बेला राहत दिने व्यवस्था गरेको छ।

समान न्याय पहुँचको परिकल्पनालाई व्यवहारमा उतार्नका लागि यस्तो प्रयासले नेपालको न्याय प्रणाली थप नागरिक–मैत्री हुने अपेक्षा गर्न सकिन्छ।

ताजा समाचार