२८ भाद्र २०८२, शुक्रबार

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ४ राउण्ड हवाई फायर


नेपाल–भारत खुला सिमानामा सुरक्षा चुनौती झनै जटिल बन्दै गएको संकेत बुधबार साँझ देखिएको एक घटनाले दिएको छ। धनुषाको विदेह नगरपालिका–२, दुहवीस्थित आँप बगैचामा तस्करी नियन्त्रण प्रयासमा खटिएको सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप भएको छ।

प्रहरीमाथि ढुंगामुढा, स्थानीयको शंकास्पद भूमिका
सशस्त्र प्रहरी बल नेपाल, महिनाथपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट डिएसपिको नेतृत्वमा गएको टोलीले भारतबाट ल्याइँदै गरेको तस्करीका सामान नियन्त्रणमा लिन खोज्दा, स्थानीयसमेत संलग्न झुण्डले ढुङ्गामुढा गरेको हो। यसबाट सीमावर्ती क्षेत्रमा तस्कर र केही स्थानीयको मिलोमतोको सम्भावना देखिएको सुरक्षा स्रोतको भनाइ छ।

नियन्त्रणमा लिन हवाई फायर
उक्त भीड तितरबितर पार्न सशस्त्र प्रहरीले एसएलआरबाट चार राउण्ड हवाई फायर गर्नु परेको थियो। भिडको आडमा केही सामान लुकाइएको जनाइएको छ। तर प्रहरीले एउटा मोटरसाइकल र केही किराना सामान भने नियन्त्रणमा लिएको छ।

सिमाना अझै जोखिममा, कडा नीति आवश्यक
यो घटना सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणको चुनौतीलाई उजागर गर्छ। खुला सिमानाको दुरुपयोग, सीमामा सुरक्षाकर्मीमाथिको आक्रमण र स्थानीय समर्थनले सीमा सुरक्षा संयन्त्रलाई थप सुदृढ पार्नुपर्ने आवश्यकता स्पष्ट बनाएको छ।

 

ताजा समाचार