१० पुष २०८१, बुधबार

छिमेकी देशको नाकाबन्दीताका कतारले पनि जर्मनीबाट लगेको थियो ४ हजार गाई


गत शनिबार नेपालस्थित भारतीय दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे २४ बुँदे वक्तव्य जारी गर्दै भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने समझदारी भएको उल्लेख गरेपछि नेपालमा यसबारे अत्याधिक चर्चा भइरहेको छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्ड आलोचनाको शिकार भइरहेका छन् । उन्नत जातको नश्ल विकासका लागि वीर्य उत्पादन गर्ने मुर्रा राँगो नेपालले विगत ५ वर्षदेखि भारतसँग माग गरिरहेको तथ्य समेत सञ्चारमाध्यमहरूले प्रकाशित गरिसकेका छन् ।

यसरी अर्को देशबाट गाई, भैंसी या अन्य उन्नत जातको पशुपंक्षी माग गर्नु र सरकारी स्तरबाटै त्यसको आपूर्ति हुनु विश्वको कूटनीतिक क्षेत्रमा नौलो विषय होइन । विश्वका विभिन्न देशहरूले एक अर्कासँग सरकारी स्तरबाटै पशुपंक्षी आयात गरिरहेका छन् ।

साउदी अरेबियाको नेतृत्वमा केही छिमेकीले जारी राखेको नाकाबन्दीका माझ कतारमा दुग्ध आपूर्ति बढाउन विमानमार्फत पहिलो खेप अन्तर्गत २०१७ को जुलाईमा १६५ होलस्टाइन गाई जर्मनीबाट दोहा पुर्याइएको थियो ।

त्यसपछि पटक पटक गरी कुल चार हजार त्यस्ता गाई त्यहाँ विमानबाट आफ्नो देशमा लागेको थियो ।

जर्मनीबाट हंगेरीको बुडापेष्ट हुँदै कतार एयरवेजको कार्गो विमानबाट ती गाई दोहा पुर्याइएको थियो । त्यसपछि तिनलाई विशेष डेरी फार्ममा लगियो । पावर इन्टरनेशनल नामक एक कतारी कम्पनीले ती गाई किनेको थियो ।

छिमेकीहरुले स्थल, सामुद्रिक तथा हवाई नाकाबन्दी लगाइदिएपछि कतारमा आएको समस्या हल गर्न कतारले यस्तो पहल गरेको हो । अहिले नाकाबन्दीको समस्या समाधान भइसकेको छ ।