२३ चैत्र २०८२, आईतवार

सेयर बजारमा ‘नयाँ सरकार’ को सुरुवाती धक्का: उत्साहमाथि सन्देहको छाया


नयाँ सरकार गठनसँगै लगानीकर्तामा जुन उत्साह देखिनुपर्ने थियो, त्यसको ठीक विपरीत नेपालको पुँजी बजारमा अहिले तीव्र ‘प्यानिक सेल’ को लहर चलेको छ। सरकार बनेको एक साताभित्रै नेप्से परिसूचकमा झन्डै १० प्रतिशत (२८४ अंक) को गिरावट आउनुले बजारको मनोविज्ञान निकै कमजोर बनेको संकेत गर्छ। २९६० को उच्च विन्दुबाट २६७६ मा झरेको बजारले लगानीकर्ताको ४ खर्ब ५० अर्ब रुपैयाँ बराबरको सम्पत्ति क्षणभरमै बढारेको छ।

यस गिरावटका पछाडि आर्थिकभन्दा पनि मनोवैज्ञानिक र नीतिगत त्रास बढी जिम्मेवार देखिएको छ। विशेष गरी सरकारले चालेको ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी कडा कदम र व्यवसायीहरूमाथिको धरपकडले ठूला लगानीकर्ताहरूलाई झस्काएको छ। जसका कारण बजारमा तरलता प्रवाह गर्ने ‘मार्केट मेकर’ हरू नै अहिले पर्ख र हेरको अवस्थामा पुगेका छन्।

बजार ओरालो लाग्नुको एउटा मुख्य कडी भनेको पछिल्लो समय राज्यका नियामक निकायहरूले व्यवसायीमाथि बढाएको निगरानी हो। सम्पत्ति शुद्धीकरण निवारणका नाममा भएका धरपकड र सम्पत्ति रोक्का गर्ने प्रक्रियाले बजारमा ‘ब्ल्याक मनी’ भनिएका वा ठूला पोर्टफोलियो भएका लगानीकर्ताहरू सुरक्षित अवतरण खोज्न थालेका छन्। जब बजारका ठूला खेलाडीहरू त्रसित हुन्छन्, तब उनीहरूले सामूहिक रूपमा सेयर आपूर्ति (Supply) बढाउँछन्, जसले गर्दा बजारमा मागभन्दा आपूर्तिको चाप बढी भई परिसूचकमा पहिरो जाने गर्दछ। स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिका अनुसार पनि ठूला व्यवसायीको होल्डिङ बाहिरिनु नै अहिलेको प्रमुख समस्या हो।

दीर्घकालीन रूपमा हेर्दा, सम्पत्ति शुद्धीकरणमा सरकारको कडाइले बजारलाई पारदर्शी र स्वस्थ बनाउन मद्दत पुर्‍याउँछ। तर, अहिलेको गिरावटले के देखाउँछ भने हाम्रो पुँजी बजार अझै पनि केही सीमित व्यक्ति वा समूहको पकडमा छ र उनीहरूको मनोदशाले समग्र बजारलाई निर्देशित गरिरहेको छ। सरकारले व्यवसायीलाई कारबाही गर्दा वास्तविक र साना लगानीकर्ता नअत्तालिऊन् भन्नेतर्फ ध्यान दिन नसक्दा बजारले ठूलो मूल्य चुकाउनु परेको हो। अबको केही समय बजारमा यही अन्योल कायमै रहने देखिन्छ, जबसम्म सरकारले निजी क्षेत्र र लगानीकर्तालाई विश्वासमा लिने स्पष्ट आर्थिक मार्गचित्र सार्वजनिक गर्दैन।