२२ कार्तिक २०८३, शुक्रबार

बालेनलाई लक्षित गर्दै रविले भने- स्टन्ट र सामाजिक सञ्जालको भाषणले मात्रै देश बन्दैन, उत्तरदायित्व र नतिजा देखाउनुपर्छ


चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सत्ता र शक्तिको उन्माद बढ्दै गएको सङ्केत गर्दै पार्टी सभापति रवि लामिछानेले आफ्ना सांसद, नेता तथा कार्यकर्ताहरूलाई दम्भ त्याग्न र संयमित बन्न कडा निर्देशन दिएका छन्। शुक्रबार चितवनमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले दिएको अभिमतको दुरुपयोग नगर्न चेतावनी दिएका हुन्। पहुँच र शक्तिको आडमा तल्लो तहका कार्यकर्ता र सर्वसाधारणको अपमान गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले पार्टीले हरेक गतिविधिलाई नजिकबाट नियालिरहेको स्पष्ट पारे।

पार्टीभित्र जनप्रतिनिधि र आम कार्यकर्ताबीच फराकिलो बन्दै गएको मनोवैज्ञानिक दूरीप्रति सभापति लामिछानेले गम्भीर चिन्ता व्यक्त गरे। सांसद बनेकाहरूले हिजोका सङ्घर्षका सहयात्रीलाई बेवास्ता गर्ने र पद नपाएकाहरूले सांसदहरूप्रति आरिस तथा ईर्ष्या राख्ने प्रवृत्ति फस्टाएको उनले बताए। सँगै सङ्घर्ष गरेका साथीको प्रगतिमा खुसी हुनुको सट्टा खिचातानीमा लाग्नु संगठनका लागि घातक हुने भन्दै उनले दुवै पक्षलाई आफ्नो व्यवहार सुधारेर एकढिक्का हुन आग्रह गरे।

आगामी निर्वाचनलाई लक्षित गर्दै लामिछानेले पार्टी पंक्तिमा अस्वाभाविक रूपमा बढेको उच्च महत्त्वाकाङ्क्षामाथि व्यङ्ग्यात्मक शैलीमा प्रहार गरे। तल्लो तह वा वडा स्तरको नेतृत्व लिन कोही पनि तयार नभई सबैको नजर माथिल्लो पदमा मात्रै टिकेको भन्दै उनले असन्तुष्टि पोखे। ‘सबैलाई ठूलै पद चाहिएको छ, वडामा चुनाव लड्न अब मैले नै राजीनामा दिएर आउनुपर्ने अवस्था आएको छ,’ लामिछानेको भनाइ थियो।

राजनीतिक शक्ति र अधिकार प्राप्त भएसँगै नेतृत्व थप जिम्मेवार र जवाफदेही हुनुपर्नेमा लामिछानेले जोड दिए। ‘हाम्रा हातमा पुलिस र सीडीओ छन्’ भन्नेजस्ता दम्भले पार्टीलाई क्षति पुर्‍याउने चेतावनी दिँदै उनले शक्ति हासिल हुँदा नै सर्वाधिक जिम्मेवार भएर अभिव्यक्ति र क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताए। जनताको हुर्मत लिने काम सह्य नहुने स्पष्ट पार्दै उनले रास्वपालाई परम्परागत दलहरूभन्दा फरक र अनुशासित बनाएर लैजानुपर्ने दायित्व सबैको भएको सम्झाए।

 

ताजा समाचार