२२ कार्तिक २०८३, शुक्रबार

साताको अन्तिम दिन सेयरबजारमा हरियाली: नेप्से २.६४ अंकले बढ्दा कारोबार रकम साढे ३ अर्ब नाघ्यो


साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार दर्ता भएको छ। नेप्से परिसूचक २.६४ अंकको झिनो वृद्धिसँगै २६५५.२२ विन्दुमा बन्द भएको छ। दिनभर ३३६ कम्पनीका १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ठूलो फड्को नमारे पनि चाडपर्वको चटारोबीच कारोबार रकम साढे ३ अर्ब नाघ्नुलाई लगानीकर्ताहरूले सकारात्मक रूपमा लिएका छन्।

आज कारोबार भएका उपसमूहहरूमा ‘अन्य’ बाहेक सबै क्षेत्रमा हरियाली छाएको छ। सर्वाधिक वृद्धि निर्जीवन बीमा समूहमा ०.६३ प्रतिशतको देखिएको छ भने म्युचुअल फण्ड, विकास बैंक, र हाइड्रोपावर लगायतका उपसमूह पनि सकारात्मक रहे। यद्यपि, ‘अन्य’ उपसमूह भने ०.८८ प्रतिशतले घटेर बन्द भयो। समग्रमा बजारका अधिकांश सूचकहरू सकारात्मक लयमा फर्किएका छन्।

कम्पनीगत आधारमा आज क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक १४.०८ प्रतिशत कमाएका छन्, जसको सेयर मूल्य बढेर १,१९२ रुपैयाँ पुगेको छ। बेनी हाइड्रोपावर र आरबीसीएलका लगानीकर्ता पनि कमाउने शीर्ष सूचीमा परेका छन्। अर्कातर्फ, घोराही सिमेन्टको सेयर मूल्य सर्वाधिक ४.४३ प्रतिशतले घट्दा नेपाल रि इन्स्योरेन्स र कालिञ्चोक दर्शनका शेयरधनीहरूले पनि नोक्सानी व्यहोरेका छन्।

बजारको वर्तमान अवस्थाबारे लगानीकर्ता कविराज तिमिल्सिनाका अनुसार चाडपर्वका कारण पछिल्ला केही दिनमा कारोबार भोल्युम केही सुस्त देखिए पनि बजारका आधारभूत पक्षहरू निकै बलिया छन्। धितोपत्र बोर्डले बजार सुधारका लागि सकारात्मक नीतिहरू ल्याइरहेकाले अब लगानीकर्ताले आफ्नो मनोबल उच्च बनाएमा नेप्सेले आगामी दिनमा थप गति लिने अपेक्षा गरिएको छ।

 

ताजा समाचार