रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमिअर लीग (एनपीएल) को उपाधि जितेको छ।
कीर्तिपुर क्रिकेट मैदानमा उपस्थित १२ हजार बढी समर्थकका माझ सम्पन्न फाइनल खेलमा चार बल बाँकी छँदै १८५ रनको लक्ष्य पूरा गरेर जनकपुरले पहिलो संस्करणको एनपीएल उपाधि जितेको हो।
जितसँगै जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लीग चरण र क्वालिफायर एकमा भोगेका हारको सुखद् बदला लिन सफल भएको छ।
जनकपुरको यो जित यस्तो खेलमा आयो जतिखेर टोलीले उपाधि पनि चुम्न सफल भयो।
एनपीएलको पहिलो संस्करणमा थुप्रै रोमाञ्चक नतिजाहरू निस्कनुका साथै कैयौँ कीर्तिमानहरू समेत बनेका छन्। कीर्तिपुर क्रिकेट मैदानमा सबै खेल दर्शक भरिभराउ हुनेगरी भए। प्रतियोगिताका केही रोचक घटनाक्रम यस्ता छन्:
एनपीएलमा एउटा मात्र शतक प्रहार भयो। पोखरा एभेन्जर्सबाट अमेरिकी ब्याटर आन्द्रेस गौसले लुम्बिनी लायन्सविरुद्ध अविजित १०४ रन बनाए। १० विकेटले खेल जितेको पनि त्यो नै एक्लो खेल भयो।
एनपीएलमा एउटा खेलको नतिजा सुपर ओभरमा टुङ्गियो। पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच भएको एक मात्र सुपर ओभरमा दुवै टिमले १३९ रन बनाएका थिए। सुपर ओभरका नायक भने पोखराबाट खेल्ने वेस्ट इन्डिजका रेमोन रेइफर बने। १८ रन लक्ष्य पाएको विराटनगरलाई उनले कसिकसाउ बलिङ गर्दे ५ रनमा समेटिदिएका थिए।
प्रतियोगितामा १ बलमा १५ रन पनि बन्यो। त्यो नमिठो रेकर्ड चितवन राइनोजका खेलाडी अमर सिंह राउटेलाको नाममा रह्यो। उनले विराटनगर किङ्ग्सविरुद्ध त्यस्तो बल फ्यालेका हुन्।
एनपीएलको एकै खेलमा ६ विकेट लिने कीर्तिमान कर्णाली याक्सका अस्ट्रेलियाली खेलाडी विलियम बोसिस्टोको नाममा रह्यो। उनले पोखरा एभेन्जर्सविरुद्धको खेलमा त्यसो गरेका हुन्।
एनपीएलमा विराटनगर किङ्ग्स लुम्बिनी लायन्स विरुद्ध बनाएको १९२ रन अहिलेसम्मको उच्च स्कोर रह्यो। खेलभर कुनै पनि टोलीले २०० रन बनाउन सकेनन्।
फिल्डिङमा जनकपुरका अनिल शाहले एकै खेलमा ५ क्याच लिएर रमाइलो कीर्तिमान बनाए।