१४ बैशाख २०८२, शनिबार

नेपाल-म्यान्मार महिला फुटबल फाइनल खेलका यस्ता छन् पाँच विशेषता


नेपाल र म्यान्मारको राष्ट्रिय महिला टोलीबीच बुधवार साँझ हुने चारदेशीय अन्तर्राष्ट्रिय फुटबलको फाइनल दर्शकका लागि व्यग्र प्रतीक्षाको विषय बनेको छ।

हुन त यो एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल मात्रै हो, जसको उद्देश्य आफ्नो राष्ट्रिय टोलीको जाँच गर्ने र कमीकमजोरीलाई सुधार्ने हो।

तर अखिल नेपाल फुटबल सङ्घ एन्फाले पहिलो पटक आयोजना गरेको महिला टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता त्यतिमै सीमित देखिँदैन।

यसमा दर्शकको अत्यधिक चासो जोडिएको छ, प्रतिस्पर्धाको स्तर थपिएको छ, नेपाली टोलीको लागि प्रतिष्ठाको विषय बनेको छ, अनि उसको उपाधिको भोक पनि जोडिएको छ।

त्यसैले नेपाली कप्तान गोलकीपर एन्जिला तुम्बाप्पो सुब्बाले फाइनल अघिको प्रिम्याच प्रेस कन्फरन्समा पुनः जोड दिएर भनिन्, “हामी घरेलु भूमिमा पहिलो उपाधि उचाल्न आतुर छौँ।”

फाइनल खेलको विशेषता केके छन् त ?

प्रतिष्ठाको प्रतिस्पर्धा

महिला फुटबलमा रेखा पौडेल

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप‍मा उपाधि जित्नुको अर्थ नेपाली महिला टोली कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुने होइन।

यो फिफाको क्यालेन्डरमा खेलिएको खेल हो, जसको नतिजाले राष्ट्रको वरीयता सुधार्न सहयोग गर्ने छ।

जारी प्रतियोगिताको खास उद्देश्य आगामी जुनमा हुने एशियन कप छनोट, महिला विश्वकपको प्रारम्भिक छनोट र ओलिम्पिकको पनि प्रारम्भिक छनोटको तयारी हो।

यसको सही सदुपयोग सहभागी अन्य टोलीले गरे। जस्तो कि लेबननले नेपालसँगको निर्णायक मानिएको खेलमा पनि राम्रा खेलाडीलाई निकालेर नयाँ खेलाडीहरूलाई मौका दिइरहेको थियो।

उसले आफ्नो खेलाडीको कमी कमजोरी सुधारिरहेको देखिन्थ्यो।

इराकविरुद्ध पाँच गोल गरेपछि साम्बा फेरि चर्चामा, के छन् उनका अरू कीर्तिमान

यद्यपि नेपालको लागि भने यो मैत्रीपूर्ण खेलमा मात्रै सीमित देखिँदैन। यो प्रतिष्ठाको लडाइँ नै बनेको देखिएको छ।

किनकि नेपाल घरेलु भूमिमा उपाधि जित्न चाहन्छ। महिला फुटबल टोलीले अझैसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन। बाह्र पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेर पनि रजत पदकमा सीमित हुनुपरेको पीडा उसलाई बिर्साउनु छ।

फुटबल विश्लेषक सञ्जीव शिल्पकार भन्छन्, “महिला टोलीले नियमित रूपमा यस्तो प्रतिस्पर्धा खेल्न अवसर पाइरहने पनि त होइन। त्यसैले पनि खेलाडीहरूले उच्चतम प्रदर्शन गर्न चाहनु स्वाभाविक हो।”

म्यान्मारविरुद्ध नेपाल

नेपाली टोली

तस्बिरको क्याप्शन,फीफा वरीयतामा नेपाल १०३ औँ स्थानमा छ भने म्यान्मार ५५ औँ स्थानमा छ

नेपाल र म्यान्मार दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन्।

अझ २-२ गोलको बराबरीमा टुङ्गिएको लीगको अन्तिम खेलमा नेपाली महिला टोलीले गरेको प्रदर्शन नेपालको एक उत्कृष्ट खेलमा पर्ने बताइन्छ। त्यस खेलमा टोली दुई पटक पछाडि परेर पनि खेलमा फर्किएको थियो।

नेपाल र म्यान्मारबीचको यो फाइनल उनीहरूको छैटौँ भेट हुनेछ। यसअघिको पाँच् भेटमा नेपालले म्यान्मारलाई हराउन सकेको छैन।

वरीयतामा पनि नेपाल १०३ औँ स्थानमा छ भने म्यान्मार ५५ औँ स्थानमा।

नेपालले खेल्न लागेको यो १३ औँ अन्तर्राष्ट्रिय फाइनल प्रतिस्पर्धा हो। यसअघिको १२ औँ प्रयाससम्म पनि नेपाल उपाधि विमुख हुनुपरेको थियो।

नेपाल पछिल्लोपटक फाइनलमा पुगेको साफ विमिन्स च्याम्पिअनशिपमा थियो, जहाँ नेपाल घरेलु मैदानमा बाङ्ग्लादेशसँग पराजित हुन पुगेको थियो।

नेपालले सुधार्नुपर्ने पक्ष

नेपाली टोलीको केही पक्षमा अहिले पनि प्रशस्त सुधारको आवश्यकता देखिएको छ।

नेपाली रक्षापङ्क्तिमा लगातारजसो गल्ती रोकिएको छैन।

म्यान्मारविरुद्ध लीगको अन्तिम खेलमा खाएको दुवै गोलमा रक्षापङ्क्ति र गोलकीपरको कमजोरी स्पष्ट देखिएका थिए।

टोलीकी मुख्य रक्षकका रूपमा छवि बनाएकी गीता रानामगरले प्रदर्शन सुधार्नुपर्ने विश्लेषकहरू बताउँछन्।

नेपाली महिला फुटबल टोली के कारण उपाधि जित्न चुक्यो?

साफ महिला च्याम्पिअनशिपमा उपाधि जित्ने नेपालको धोको अधुरै, बाङ्ग्लादेशसँग २–१ ले पराजित

मिडफील्डमा गुनासो गर्ने ठाउँ देखिएको छैन। प्रीति राईले आशा गरेजस्तै अवसरहरू सृजना गरिरहेकी छन्। त्यसमा रेनुका नगरकोटे पनि फर्ममा फर्किएकी छन् भने सरू लिम्बूले पनि राम्रो खेल प्रदर्शन गरेकी छन्।

स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उपस्थितिले नेपालको टीमको समग्र प्रदर्शन बलियो भएकै छ। फाइनलमा उनीबाट यस्तै प्रदर्शनको आशा दर्शकले गरिरहेका छन्।

टोलीको गहन समस्या भने सावित्रा र रेखा पौडेल बिच तालमेलमा कमी देखिनु पनि हो। प्रशिक्षक राजेन्द्र तामाङले फाइनलमा यो कमजोरी मेटिने भनेका छन्। बीबीसी