
चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि बुधबार साँझ सम्पन्न प्रतिस्पर्धामा नेपाल म्यानमासँग २–० गोलअन्तरले पराजित हुन पुगेको हो । यसस“गै नेपाल १३औं पटक फाइनलमै पराजित भएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेर विगतमा १२ विभिन्न प्रतियोगितामा फाइनलमा पराजित भएको पीडाको मलहम लगाउने अवसर घरेलु मैदानमा पनि नेपालले गुमाउन पुग्यो । म्यानमाका लागि खेलको ६२औं मिनेटमा साढे १५ हजार दर्शकसामु नोपो खिनेले सुरुवाती गोल गरिन् । १ गोलको अग्रता लिएर हौसिएको म्यानमाका लागि लगत्तै २ मिनेटपछि कप्तान विन तुनले दोस्रो गोल गरिन् ।
खेलको ७०औं मिनेटमा नेपाली खेलाडी रश्मिकुमारीको शसक्त प्रहार म्यानमाकी गोलकिपर मियो म्याम्याले बचाइन् । खेलको ८२औं मिनेटमा प्रीती राईको लामो सट म्यानमाकी किपरले रोकिन् । उनले रोक्ने क्रममा फुत्किएको बल सबिता राना मगरले भेट्टाउन नसक्दा गोलको अवसर नेपालले खेरफाल्यो ।
यसअघि ५५औं मिनेटमा नेपालले अर्को गोलको अवसर खेरफाल्यो । विमला विकको पासमा सावित्रा भण्डारी ‘साम्बा’ले गरेको हेड दोस्रो पोल नजिकैबाट बाहिरियो । पहिलो हाफमा दुवैतर्फबाट गोलका प्रयास भएका थिए ।
१०औं र २०औं मिनेटमा म्यानमाकी योन वादीले गरेको प्रहार नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले उत्कृष्ट बचाउ गरिन् । २४औं मिनेटमा म्यानमाले अर्को एउटा गोल गर्ने मौका गुमायो । ८ नम्बर जर्सीकी म्यानमाकी सान थ्वाले गरेको प्रहार नेपाली किपर एन्जिला झुक्किएको अवस्थामा विमला विकले विफल पारिन् ।
खेलको ३५औं मिनेटमा नेपालले गोल गर्ने सुन्दर अवसर गुमायो । रेखा पौडेलको पासमा साम्बाको बल गोलकिपर मियो म्याम्याले बचाइन् । त्यसपछि नेपाली खेलाडीले गोलको प्रयास गरे पनि म्यानमाका डिफेन्डरले बल क्लियर गरिदिए । फेरि ४४औं मिनेटमा विमला विकको ‘फ्रि किक’मा रेखा र साम्बाले गोल गर्ने अवसर खेरफाले । म्यानमाका डिफेन्डरसामु नेपाल फिक्का देखियो ।
नेपाली महिला टिमले ‘साफ महिला च्याम्पियनसिप’मा चारपटक भारत र दुईपटक बंगलादेशसँग गरी ६ पटक तथा दक्षिण एसियाली खेलकुद (साग)मा तीनपटक फाइनलमा भारतसँग पराजित भएको थियो ।
सन् २०१०, २०१२, २०१४ र २०१९ को महिला साफको फाइनलमा नेपालले भारतसँग हार बेहोरेको थियो । २ वर्षअघि सन् २०२२ मा र सन् २०२४ मा घरेलु मैदानमा भएको साफको फाइनलमा पनि नेपालले बंगालदेशसँग पराजय भोगेको थियो ।
यस्तै, तीनपटकको दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल दोस्रो स्थानमै खुम्चिएको थियो । सन् २०१०, २०१६ र २०१९ को साग खेलकुदको स्वर्ण पदकको भिडन्तमा नेपाल भारतसँगै पराजित भएको थियो ।
यस्तै, सन् २०१९ मा भारतमा भएको वुमन्स हिरो गोल्डकपमा म्यानमासँग, सन् २०१९ मै कीर्गिस्तानमा भएको नादेज्दा कपमा उज्वेकिस्तानसँग र गत वर्ष वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) वुमन्स फुटबल प्रतियोगिताको फाइनलमा जोर्डनसँग पराजित हुँदै उपाधिको मुखमै पुगेर रित्तो हात फर्किएको छ । पछिल्लोपटक गत नोभेम्बरमा घरेलु मैदानमै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा बंगलादेशसँग पराजित भएको थियो ।
गत ५ फागुनदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपालसहित म्यानमा, कीर्गिस्तान र लेबनानले भाग लिएका हुन् । जसमा नेपाल र म्यानमा दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
लिग चरणमा भएका तीन–तीन खेलमा दुई–दुई खेल जित्दै र एक बराबरी खेल्दै समान ७ अंक जोडेर दुवै टोली फाइनलमा पुगेका हुन् ।
गोलअन्तरमा म्यानमा पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेका हुन् । नेपालले कीर्गिस्तान र लेबनानलाई समान १–० ले पराजित गर्दा म्यानमाले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० ले पाखा लगाएको थियो ।
नेपाल र म्यानमाले लिग चरणको अन्तिम खेलमा २–२ को बराबरी खेलेका थिए । यो प्रतियोगिता एएफसी महिला एसियन कप र फिफा महिला विश्वकप छनोटको तयारीस्वरूप आयोजना गरिएको हो । राजधानी दैनिकमा खबर छ