७ पुष २०८१, आईतवार

ओलीका स्वकीय सचिव बज्राचार्यले भने – दुलालसँग मेरो चिनजान छैन, चरित्रहत्या भयो


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई मुछिएकोप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत उनले अभियुक्त केशव दुलाललाई आफूले नचिनेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले मेरो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । अभियुक्त केशव दुलालसँग मेरो चिनजान छैन ।’

उनले चिनजान नै नभएको व्यक्तिबाट आफ्नो नाम किन पोलियो र पोल्न लगाइयो, त्यसको कारण पनि आफूले बुझ्न नसकेको बताएका छन् ।

‘नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय पनि होइन र मैले बुझेको विषय पनि होइन । मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाइएको बयानका आधारमा मेरो चरित्रहत्या हुनेगरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।