९ पुष २०८१, मंगलवार

चिलजस्तो हुनुपर्ने बजेट लाटोकोशेरो भएको अध्यक्ष ओलीको आरोप


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन् ।

समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीले बताए ।

मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दाबी गरे ।

बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराजस्तो भएको उनको टीप्पणी छ ।

‘समाजवादउन्मुख अर्थ व्यवस्थाको मार्गबाट बजेट विचलित भएको छ । नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति बजेट विल्कुल विमुख छ । यसले अकर्मण्यता र शिथिलताले ग्रसित छ,’ उनले भने, ‘चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोशेराको जस्तो छ बजेट । यसले देख्दैन, भिजन छैन । पोलिसी छैन ।’