काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवैधरूपमा भित्रिएको सुन तस्करी प्रकरणबारे छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ । बिहीबार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको विभागले जनाएको छ ।
समितिले दिने प्रतिवेदनका आधारमा कर्मचारीहरु दोषी भेटिए कारवाहीको सिफारिस हुने विभागले जनाएको छ।
विभागका सूचना अधिकारी पूण्यविक्रम खड्काअनुसार अनुसन्धानका लागि जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए । उनका अनुसार एक्सरे मेसिनले के कारणले ट्रयाक गर्न सकिएन वा कर्मचारीकै मिलेमतोमा भएको हो भन्ने बारेमा अध्ययन गरेर दोषीलाई कडा कारवाहीको दायरामा ल्याइनेछ।
त्रिभुवन विमानस्थलको भन्सार विभागबाट पास भएको करिब १०० केजी सुन विशेष सुराकीका आधारमा राजस्व अनुसन्धान विभागले बरामत गरेको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा पाँच जना पक्राउ परेका छन् ।