अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताएका हुन् ।
उनले अर्थतन्त्रले विस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताए । उनले वैदेशिक मुद्राको सञ्चिति राम्रो भएको बताए । पर्यटकको आगमन पनि बढिरहेको उल्लेख गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बैंकहरुले ब्याज कम गर्नुपर्ने बताए ।
त्यस्तै नियमनकारी संस्थाहरुले अर्थतन्त्रको दिशालाई मध्यनजर गर्दै आफ्नो निति निर्माण गर्नुपर्ने उनको भनाई थियो । मन्त्री महतले सरकारले वित्त नीति तय गर्दा वित्त व्यवस्था र खर्च प्रणालीलाई प्रभावकारी बनाउने गरी गर्नुपर्ने बताए ।
‘अर्थतन्त्रको चक्रलाई चलायमान गर्नका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता छ, बैंकहरुले ब्याज सकेसम्म कम गरेर योगदान गर्नुपर्ने आवश्यकता छ, नियमनकारी संस्थाहरुले अर्थतन्त्र अहिले कतातिर गइराखेको छ, त्यसलाई मध्यनजर राखेर आफ्नो नीति, निर्माण गर्नुपर्ने हुन्छ, सरकारले वित्त नीति तय गर्दाखेरी हाम्रो वित्त व्यवस्थालाई प्रभावकारी बनाउने, खर्च प्रणालीलाई प्रभावकारी बनाउने, चाँडो चाँडो खर्च गर्ने र त्यसबाट प्रतिफल प्राप्त गर्ने बाटोलाई सुनिश्चित गर्नुपर्ने हुन्छ, त्यसको लागि सरकारले बजेटमा धेरै सुधारका प्रश्तावहरु पेस गरेको छ, त्यसको लक्ष्य भनेको हाम्रो आर्थिक गतिविधि बढोस्, लगानीको वातावरण बढोस्, र पुँजी प्रवाह बजारमा होस्, आर्थिक गतिविधि बढोस् भन्ने नै हाम्रो लक्ष्य रहेको छ,’ उनले भने ।
सरकारले बजेटमा धेरै सुधारका प्रस्तावहरु पेश गरेको बताउँदै उनले देशमा लगानीको वातावरण बढाउने र बजारमा पुँजी प्रवाह गर्ने लक्ष्य साथ काम गरिरहेको जानकारी गराए ।