नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी बैंकबाट बाहिरिने भएका छन् । सीईओको रुपमा ४ वर्षको कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन् ।
स्रोतका अनुसार अधिकारीको सीईओको रुपमा दोहोरिने सम्भावना न्यून छ ।
वि.सं. २०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका उनी असोज १४ गते बैंकबाट बाहिरिन लागेका हुन् । बैंक सञ्चालक समितिले उनलाई दोस्रो कार्यकालका रुपमा नियुक्त गर्न आनाकानी गरेपछि अधिकारीले बैंकबाट बाहिरिने निर्णय गरेको बुझिएको छ ।
बैंकको सञ्चालक समितिले नयाँ सीईओ नियुक्तिको प्रक्रिया पनि अगाडि बढाइसकेको छ । बैंकका सञ्चालक समिति सदस्य आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सीईओ छनोट समिति गठन गरिएको छ ।
बैंक स्रोतका अनुसार आगामी बिहीबार बस्ने सञ्चालक समितिको बैठकले नयाँ सीईओका लागि आवेदन आह्वान गर्नेछ ।
२०७६ मा खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका अधिकारीले १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै बैंकको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकालमा नेपाल बैंकले फड्को मारेको छ । कुनै समय ठूलो नोक्सानी व्यहोरेको नेपाल बैंक पछिल्लो समय वाणिज्य बैंकहरुबीच एक अब्बल बैंकका रुपमा स्थापित भएको छ ।