६ बैशाख २०८२, शुक्रबार

समयमा नविकरण नगरे सूचीकरण स्थगन गर्ने नेप्सेकाे चेतावनी


नेपाल स्टक एकसचेन्ज लिमिटेडले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले नविकरण समयमा नगरे सूचीकरण स्थगन गर्न सकिने चेतावनी पनि दिएको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ क र खमा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०८०/८१को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेको उल्लेख गरेकाे छ ।

उक्त वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी कम्पनीहरुले धितोपत्रको हकमा ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी हुनेले ५० हजार रुपैयाँ वार्षिक शुल्क बुझाउन पर्नेछ । ५० करोड रुपैयाँ भन्दा माथि चुक्ता पूँजी हुनेले भने एक लाख रुपैयाँ वार्षिक शुल्क बुझाउनपर्ने नेप्सेले उक्त सूचनामा उल्लेख गरेको छ ।

यस्तै, डिवेन्चर वा म्युचुअल फण्डको वार्षिक नवीकरण शुल्क ५० करोड रुपैयाँसम्मको चुक्ता पूँजी हुनेलाई २५ हजार रुपैयाँ र ५० करोड भन्दा माथि हुनेको हकमा ५० हजार रुपैयाँ वार्षिक शुल्क लाग्ने भएको छ ।

नेप्सेले ताेकिएका समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने पनि जनाएको छ । यसका साथै समयमा नविकरण नगरे धितोपत्र सूचीकरण विनियामावली, २०७५को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने चेतावनी पनि नेप्सेले दिएको छ।