९ पुष २०८१, मंगलवार

मन्त्री किराँतीको अभिव्यक्तिले माओवादीमा चरम असन्तुष्टि, यसै छाड्न नहुने निष्कर्ष


काठमाडौँ । इसाई धर्मावलम्बीहरूको कार्यक्रममा पर्यटनमंत्री सुदन किराँतीले दिएको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ ।

माओवादी नेताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धार्मिक आस्था राख्ने समुदायको भावनामा चोट पुर्‍याएको ठहर गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामेश्वर राय यादवले पार्टीभित्र पनि विभिन्न धर्ममा आस्था राख्नेहरूको भावनामा चोट लाग्ने अभिव्यक्ति दिएको बताएका छन् । “म पार्टीलाई पनि भन्छु, यस्ता कुराहरूलाई छुट दिनुहुन्न। यसले सामाजिक द्वन्द्व बढाउँछ।”

“क्रिश्चियन (धर्म) नमान्ने राष्ट्रघाती हो भन्ने जुन शब्द उहाँले प्रयोग गर्नुभयो, त्यो आपत्तिजनक हो। अरू कुनै समुदाय वा सम्प्रदायलाई होच्याउन पाइँदैन।” उनले भनेका छन् ।

किरांतीले के भनेका थिए?

“नेपालमा [झन्डै] तीन करोड जनसङ्ख्यामा आज लाखौँ क्रिश्चियन भइसकेका छन्। त्यो संविधानको अधिकारलाई प्रयोग गर्दै संवैधानिक अधिकारलाई मान्दै भएका हुन्,” मन्त्री किराँतीले भनेका छन्।

“क्रिश्चियनलाई मान्दिनँ भन्नु चाहिँ संविधान मान्दिनँ भन्नु हो। संविधान नमान्ने देशद्रोही हुन्।”

उनको अभिव्यक्तिलाई लिएर विभिन्न संघसंस्थाहरुले आन्दोलन गरिसकेका छन् भने कतिले अझै कार्यक्रम बनाइराखेका छन् ।

नेपालमा कुल १० वटा धर्म मान्ने मानिस रहेको आधिकारिक तथ्याङ्क छ। तीमध्ये सबैभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाउँछ।

सन् २०२१ को नोभेम्बर २५ तारिखसम्मको विवरण समेटिएको तथ्याङ्कअनुसार नेपालमा अहिले ८१.१९ प्रतिशत हिन्दूको जनसङ्ख्या छ।