७ पुष २०८१, आईतवार

बजेटमा काँग्रेसको टिप्पणी: बजेटरी सुधार हुने कुनै छन्द देखिएन


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा बजेटरी सुधार हुने संकेत नदेखिको प्रतिक्रिया दिएको छ ।

संघीय संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा, प्रकाशशरण महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘बजेटरी सुधार हुने मैले कुनै छन्द देखेको छैन । जति पनि यसका वितरणमुखी प्रवृत्तिहरू छन्, वितरणमुखी विषयवस्तुहरू छन्, त्यो छोपिएको छ । त्यो बाहिर स्पष्ट रुपमा प्रकट भएको छैन ।’

‘बजेटमा बेथिति थियो, बजेट विनियोजन नै नभइ ठेक्का लगाउने प्रवृत्ति थियो, कनिका छर्ने प्रवृत्तिका बजेट थिए । त्यसलाई कार्यविधि बनाएर तीन करोडभन्दा तलको आयोजना नराख्ने भन्ने भन्या थियौँ, त्यसमा उहाँ मौन हुनुहुन्छ,’ उनले भने, ‘मैले बुझे अनुसार यो तीन करोडको कार्यविधिलाई उहाँहरुले तिलाञ्जलि दिनुभएको छ ।’