७ पुष २०८१, आईतवार

स्टाटसमा रिपोर्ट गरेको आरोप लगाउँदै ओलीलाई बालेनले भने – म गलत भए मलाई समाउ


काठमाडौं । प्रदेश सांसद रेखा शर्मालाई कारबाही गर्न माग गरिएको पोस्ट फेसबुकबाट हटेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले त्यसको प्रतिकार गरेका छन् ।

मङ्गलबार फेसबुकमा अर्को पोस्ट राख्दै उनले पोस्ट उडाउनुभन्दा दोषीलाई समाउन सरकारलाई आग्रह गरेका छन् ।

“पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार,” उनले लेखेका छन्, “म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।”

बालेनले नेकपा एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद शर्माले एक नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गरेको आरोप लगाएका छन् ।

दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि आरोपी सांसदलाई नसमाएकाे भन्दै बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका थिए । तर अत्यधिक रिपोर्ट आएपछि उक्त पोस्ट फेसबुकले नै हटाएको बालेनको सचिवालयले जनाएको छ ।

बालेनले त्यसैलाई आधार बनाउँदै पोस्ट हटाउनुभन्दा दोषीलाई कारबाही गर्न अनुरोध गरेका हुन् ।

Source: Techpana