प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि नयाਂ राजदूत सिफारिस गर्नुका साथै नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापालाई राजदूत पदमा सिफारिस गरिएको छ। यसैगरी, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जर्मनीका लागि शरू जोशीलाई सिफारिस गरिएको छ। ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा नियुक्तिका लागि संसदीय सुनुवाितर्फ लेख पठाइने भएको छ।
राजदूत सिफारिससँगै बैठकले प्रशासनिक तथा साङ्गठनिक क्षेत्रमा पनि फेरबदल गरेको छ। सरकारले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ भने सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकृत विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले नीतिगत र मन्त्रालयगत कार्यविभाजनमा पनि केही संशोधन गरेको छ। प्रवक्ता पोखरेलका अनुसार बैठकले ‘नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३’ स्वीकृत गरेको छ। साथै, साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ समेत संशोधन गर्ने निर्णय गरिएको छ।