निरन्तरको वर्षाका कारण बन्चरेडाँडा ल्याण्डफिल साइटमा माथिबाट लेदोसहितको पहिरो खसेपछि काठमाडौं उपत्यकाको फोहोर संकलन तथा ढुवानी प्रभावित भएको छ। साइटको बिग्रिएको अवस्था र लगातारको वर्षाले गर्दा गाडीहरूले फोहोर विसर्जन गर्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
परिस्थिति सामान्य नभएसम्म फोहोर नियमित हुन नसक्ने भन्दै महानगरले नगरवासीलाई सार्वजनिक स्थल, सडक वा खोला-नालामा फोहोर नफाल्न कडा आग्रह गरेको छ। साथै, सेवा सुचारु नहुन्जेलसम्म आफैं कुहिने र नकुहिने फोहोर छुट्याएर घर तथा परिसरभित्रै सुरक्षित राख्न अपिल गरिएको छ। ल्याण्डफिल साइटको अवस्था सुधार भएलगत्तै नियमित रूपमा फोहोर उठाइने महानगरले प्रस्ट पारेको छ।