२०८४ मा हुने आम निर्वाचनमा एकल बहुमत ल्याउने लक्ष्यसहित सत्तारुढ नेकपा (एमाले)ले वार्षिक कार्ययोजना तयार गरेको छ ।
जसमा पार्टी संगठन निर्णदेखि प्रचार प्रसार र अभियानको विषयमा बुँदागतरुपमा कार्यक्रम बनाइएको छ । कुन कार्यक्रम कसरी गर्ने, कुन अभियान कहिलेदेखि चलाउने, कुन कार्यक्रमका लागि कसरी अर्थ जुटाउनेसम्मका विषय कार्ययोजनामा तयार गरिएको छ ।
महासचिव शंकर पोखरेलले सार्वजनिक जारी गरेको कार्ययोजनामा ०८२ सम्म वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत, पालिका र जिल्लामा मतदाताको कम्तीमा ६ प्रतिशत पार्टी सदस्य पुर्याउने पूर्वनिर्धारित लक्ष्य पूरा गर्ने गरी योजना बनाएर कार्यान्वयन गर्ने उल्लेख छ ।
“पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनसम्म प्रत्येक पालिका कमिटीले कुल सदस्यको संख्या ३३ प्रतिशत महिला सदस्य पुर्याउने गरी योजना बनाई कार्यान्वयन गर्ने । सदस्यता विस्तार गर्दा मापदण्डको पालना गर्दै नयाँ सदस्यहरूको आवेदन लिने र त्यसमाथि प्रक्रियाबमोजिम आवश्यक निर्णय गर्ने काम निरन्तर जारी राख्ने । नयाँ सदस्यता प्रदान गर्नुअघि अनिवार्य आधारभूत तहको प्रशिक्षण तथा परीक्षा लिने प्रणाली व्यवस्थित गर्ने,” कार्ययोजनामा भनिएको छ ।