सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले सरकारी वकिलको साक्षीमा राखेर बयान सकाएका हुन् ।
बयानका क्रममा लामिछाने आक्रोशित मुद्रामा देखिएका र उनले जवाफ पनि आक्रोशित रुपमा नै दिएको एक अधिकृतले जानकारी दिए ।
बयानका क्रममा उनलाई विभिन्न खाले प्रश्नहरु सोधिएको थियो ।
उक्त वयानका क्रममा उनले आफूले कुनै पनि सहकारी ठगी नगरेको र सरकारले प्रतिशोध साँध्न आफूलाई पक्राउ गरेर अनावश्यक दुख दिएको दाबी गरे ।
।रवि लामिछानेले ६ दिन हिरासतमा राख्दा पनि एउटा पनि नयाँ तथ्य पत्ता लगाउन नसकेको भन्दै उनले इजलासमा आक्रोश पोखे, ‘हिरासतमा राख्नकै लागि ६ दिनमा ४/४ घण्टामात्रै बयान लिइएको छ, यो षड्यन्त्र होइन ?’ भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका थिए ‘एउटै प्रश्नमा पटक पटक परीक्षा दिइसकेको छु । अझै कति एउटै प्रश्नको परीक्षा दिनुपर्ने हो ? यो घोर अन्याय हो । यो ज्यादति हो, यो अपमान हो ।’
आक्रोशित मुद्रामा प्रस्तुत भएका लामिछानेलाई न्यायाधीशले आफूहरु अदालतमा रहेको र चर्को नबोल्न आग्रह गरे । त्यसपछि उनले आफूलाई षड्यन्त्र पूर्वक पुर्वाग्रह सहित पक्राउ गरेकोमा अटोमेटिक आएको आक्रोश भन्दै मागी माग्न भ्याए ।
सांसद् सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन समितिले रवि प्रबन्ध निर्देशक भएका बेला पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गएको प्रतिवेदन दिएको थियो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बुधबार विज्ञप्ति जारी गरेर संसदीय छानबिन समितिले नै लामिछाने सहकारीको बचत अपचलनमा संलग्न नरहेको र सहकारीबाट ऋणसमेत नलिएको प्रतिवेदन दिएको, तर राजनीतिक प्रतिशोध साधेर बदनियत राखी सरकारले पक्राउ गरी हिरासतमा राखेको उल्लेख गरेका छन् ।
‘यो पक्राउ प्रकरणमा राजनीतिक प्रतिशोध र बदनियत देखिएकाले पक्राउपश्चात् देशका विभिन्न क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, शुभचिन्तक तथा न्यायप्रेमी नागरिकहरूले विरोध प्रदर्शन गरिरहेका छन् । उक्त विरोध र आन्दोलन कुनै आधार र कारण नै नभई गैर–कानुनी रूपमा निर्दोष व्यक्तिलाई पक्राउ गर्ने राजनीतिक पूर्वाग्रह र प्रतिशोधको खेलविरुद्ध हो भन्ने सबैमा स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछानेलाई २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेपछि रास्वपाका नेता–कार्यकर्ताले राजनीतिक प्रतिशोध भन्दै प्रदर्शन गर्दै आएका छन् ।