ह्वाट्सएपबाट सर्वसाधारणलाई धम्की दिई ठगी प्रयास गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर घर भई हाल ललितपुर बस्दै आएका ३२ वर्षीय डा. आशिष दाहाल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानका प्रवक्ता एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आरोपी डा. दाहालले केही महिनाअघि अनलाइन जुवामा ४० लाख रुपैयाँभन्दा बढी गुमाएका थिए । पाटन अस्पताल र अन्य केही निजी अस्पतालमा काम गर्ने उनले जुवामा हारेको पैसा असुल गर्न धम्की र ठगीको बाटो रोजेका थिए ।
त्यसका लागि उनले सबैभन्दा पहिले क्लिनिकमा जागिर खुलेको भन्दै विज्ञापन गरे । विज्ञापन देखेर अन्तर्वार्तामा आएका युवायुवतीको सीभी र नागरिकता आफूसँग राखे । त्यही नागरिकताको भरमा नक्कली सिम निकाले । अनि सर्वसाधारणलाई फोन गरी धम्की दिन थाले ।
उनी ९८०९७०५२१५ नम्बरको ह्वाट्सएपबाट सम्पर्क गर्थे । त्यसपछि आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट भएको बताउँथे । त्यसपछि बजारमा रहेका होर्डिङ बोर्डमा भेटिने फोन नम्बरहरूमा कल गर्दै ५० हजारदेखि दुई लाख रुपैयाँसम्म माग्थे । “फोन गर्ने अनि आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हुँ भन्ने रहेछन्,” प्रहरी उपरीक्षक आचार्यले भने, “त्यसपछि पैसा माग्ने रहेछन् । नदिए सिरियल किलर लगाएर मार्छु, मसँग बिहारका सिरियल किलर सम्पर्कमा छन् भन्दै डर देखाउने रहेछन् ।”
यसरी धम्की दिएपछि एक पीडित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिन आए । त्यही निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा घटनामा डा. दाहालको संलग्नता रहेको फेला परेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिई डा. दाहाललाई मङ्गलबार ग्वार्को ललितपुरबाट नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा डा. दाहालले आफूले १९ जनाभन्दा बढीलाई धम्की दिएको स्वीकार गरेका छन् । उनले अन्य सर्वसाधारणलाई पनि ठगी गरेको हुनसक्ने भन्दै उनको सम्पर्क नम्बर पनि प्रहरीले सार्वजनिक गरेको छ । उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । टेकपाना