२६ कार्तिक २०८३, मंगलवार

जलवायु राजनीतिमा नेपालको ऐतिहासिक सफलता: टाइम पत्रिकाको ‘१०० प्रभावशाली’ सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले


जलवायु परिवर्तनको विश्वव्यापी संकट र नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउँदै आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वकै प्रतिष्ठित ‘टाइम’ पत्रिकाको नजरमा परेका छन्। टाइमले सार्वजनिक गरेको सन् २०२६ को ‘जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व’ (TIME100 Climate 2026) को ‘लीडर्स’ (नेतृत्वकर्ता) विधामा वाग्ले समावेश भएका हुन्।

बेलायती राजकुमार विलियम, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनजस्ता विश्व राजनीति र नीतिनिर्माणका शीर्ष हस्तीहरूसँगै नेपाली अर्थमन्त्रीको नाम अटाउनुलाई नेपालको जलवायु कूटनीति र नेतृत्वका लागि ठूलो उपलब्धि मानिएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’ को पैरवी टाइम पत्रिकाका अनुसार रसुवा-भोटेकोशी क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिपछि वाग्लेले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका प्रशंसनीय छ। जलवायुजन्य जोखिममा परेका नेपालजस्ता मुलुकका लागि ‘जलवायु वित्त’ (Climate Finance) जुटाउन, आन्तरिक तथा बाह्य स्रोत व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधारका लागि उनले अघि सारेका स्पष्ट खाकाहरूलाई टाइमले प्रमुख योगदानका रूपमा रेखांकित गरेको छ।

२८ वर्षको अध्ययनदेखि नीतिनिर्माणसम्मको यात्रा विगत २८ वर्षदेखि दिगो आर्थिक विकास, अनुसन्धान र नीतिनिर्माणका क्षेत्रमा निरन्तर सक्रिय डा. वाग्ले हाल निर्वाचित राजनीतिज्ञका रूपमा देशको अर्थतन्त्र सम्हालिरहेका छन्। प्राज्ञिक अनुभवलाई व्यवहारिक राजनीति र नीतिनिर्माणमा जोड्दै उनले नेपालको आर्थिक समृद्धिलाई वातावरणीय दिगोपनासँग जोड्ने प्रयास गर्दै आएका छन्।

ग्लोबल वार्मिङका कारण उच्च जोखिममा रहेको नेपालले कसरी विश्वव्यापी जलवायु वित्त र न्यायको मुद्दालाई अगाडि बढाउन सक्छ भन्ने कुरा डा. वाग्लेको यो अन्तर्राष्ट्रिय मान्यताले पुष्टि गरेको छ।

ताजा समाचार