२५ चैत्र २०८१, सोमबार

रवी लामिछानेको हिरासत बसाई कति?


पूर्वगृहमन्त्री रवी लामिछाने सहकारी प्रकरणमा परेर अहिले कारागार रहेका छन् । उनी सोमबार बिहान रुपन्देही जिल्ला कारागार चलान भएका छन् । उच्च अदालत बुटवल इजलासको आदेशलगत्तै समातिएका थिए ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताए ।

लामिछानेलाई राखिएको कक्ष अन्य कैदीबन्दीलाई राखिएका भवनभन्दा बाहिर रहेको छ । शुक्रबार राति काठमाडौँमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

उनको हिरासत बसाई कति लामो हुने भन्ने विषय अहिले सबैको लागि चर्चाको विषय बनेको छ । उच्च अदालतको आदेशलाई सर्वोच्चले बदर गरेमा उनी थुनामुक्त हुन्छन् ।

रवी लामिछानेले सर्वोच्चमा निवेदन दिने तयारी गरेका छन् ।  त्यो निवेदनमाथि सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि बुटवलबाट ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश गर्नेछ ।