
सर्लाहीको बागमती नगरपालिकामा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई युवाले ज्यान गुमाएका छन्, भने दुई महिला घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमती–४, जिरायत नजिकको पुतलीचोकमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा रौतहटका ३३ वर्षीय नागेन्द्र साह सोनार र काठमाडौंका ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको हो।
नागेन्द्र र विवेक दुवै चालक रहेको पुष्टि गरिएको छ। दुर्घटनापछि उनीहरूलाई मोडल अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।
दुर्घटनामा नागेन्द्रको मोटरसाइकलमा सवार रौतहटकी ३२ वर्षीया चनचला देवी साह र भारत बिहारकी ३४ वर्षीया मुनिदेवी साह घाइते भएका छन्। हाल उनीहरूको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।