पोखरामा चर्चित बनेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूलाई पीडित भन्दै आवाज उठाउने कृष्णप्रसाद जैसी नै अर्को सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका छन्। धनुष बचत तथा ऋण सहकारीमा ऋण उपसमितिमा रहँदा उनले कृत्रिम खाता सञ्चालन गरी ८२ लाख रुपैयाँ अपचलन गरेको आरोपमा प्रहरीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो।
सहकारी रजिस्ट्रार कार्यालयले तयार पारेको छानबिन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयले कारबाही अघि बढाएको जनाएको छ। सोही प्रतिवेदनमा धनुष सहकारीबाट कुल १९ करोड १८ लाख रुपैयाँ अपचलन भएको उल्लेख गरिएको छ, जसमा जैसीसहित अन्य चार जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ।
यस घटनाले विशेष चर्चा पाएको कारण भने जैसीकै अघिल्लो भूमिका हो। उनी सूर्यदर्शन सहकारीमा बचत डुबेको भन्दै सार्वजनिक रूपमा सक्रिय भएका थिए र रास्वपा सभापति रवि लामिछाने तथा ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राईविरुद्ध किटानी जाहेरी दिएका थिए। उनकीै जाहेरीका आधारमा १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।
अहिले भने त्यही व्यक्ति आफैं अर्को सहकारी ठगी प्रकरणमा मुछिएपछि पोखराको सहकारी क्षेत्रभित्र प्रश्न र बहस थप चर्किएको छ। पीडित र आरोपी दुवै भूमिकामा देखिएको यो घटनाले सहकारी अनियमितताबारे नयाँ बहस जन्माएको छ।