नेकपा एमालेका पूर्व संविधानसभा सदस्य कर्णबहादुर मल्ललाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ। मुगुको सोरु गाउँपालिका–१० घर भएका ५२ वर्षीय मल्ल हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ मा बस्दै आएका थिए। उनलाई शनिबार ललितपुर महानगरपालिका–१५ क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार एक महिलाले मल्लविरुद्ध बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
पीडित महिलाले फागुन ५ गते नै प्रहरीमा उजुरी दिएकी थिइन्। न्यायको माग गर्दै उनी केही समयअघि माइतीघरमा अनशनसमेत बसेकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।