१५ चैत्र २०८२, शनिबार

मुठभेडको खाडलतिर मुलुक !


मुलुकमा नयाँ सरकार गठन भएको २४ घण्टा पनि बित्न नपाउँदै सडकमा आक्रोशको ज्वाला दन्किएको छ । एकातिर नयाँ मन्त्रीहरूले कार्यभार सम्हाल्दै गर्दा अर्कोतिर प्रतिपक्षी दल नेकपा एमालेका कार्यकर्ताहरूले ‘राजनीतिक प्रतिशोध’ को नारा लगाउँदै सडक तताएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासल बाहिर भेला भएका एमाले कार्यकर्ताहरूले ‘जेनजी आन्दोलन जाँचबुझ आयोग’ को प्रतिवेदन जलाएर नयाँ सरकारलाई कडा चुनौती दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई एमाले सचिवालयले राजनीतिक षड्यन्त्र र प्रतिशोधको पराकाष्ठा ठहर गरेको छ । च्यासलमा आक्रोशित भिडले प्रतिवेदन जलाउँदै सरकारले नियोजित रूपमा आफ्ना नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।

यसैबीच, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँको मुटु भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै अध्यक्ष ओलीको तत्काल रिहाइको माग गरेका छन् । “नयाँ सरकारले जनजीविका र विकासभन्दा बढी प्रतिशोधको राजनीतिलाई प्राथमिकता दियो,” एक प्रदर्शनकारीले आक्रोश पोखे ।

एमाले सचिवालयले यस पक्राउलाई लोकतन्त्रमाथिको प्रहार भन्दै देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ । हिजो मात्रै बनेको सरकारका लागि यो सडक आन्दोलन पहिलो र निकै चुनौतीपूर्ण ‘अग्निपरीक्षा’ बनेको छ । एकातिर सत्ताको बाँडफाँट र अर्कोतिर सडकको यो रापले आगामी दिनको राजनीति थप मुठभेडतर्फ धकेलिने संकेत देखिएको छ ।