दौमा भएको ‘जेनजी’ आन्दोलन दमनको आरोपमा काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएका रिजालमाथि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेको थियो। सोही आयोगको प्रतिवेदनका आधारमा गत शनिबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि अहिले प्रशासनिक नेतृत्वमा रहेका रिजालको पालो आएको हो।
रिजालको कार्यकाल विवादरहित रहन सकेन। तत्कालीन गृहमन्त्री रमेश लेखकको निकटका मानिने उनी काठमाडौंको सीडीओ हुनुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थिए। त्यहाँ रहँदा उनले कर्मचारीहरूलाई अध्यागमन र अन्य आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरीत’ काम गरेको र आर्थिक चलखेलमा संलग्न भएको गम्भीर आरोप लागेको छ। जेनजी आन्दोलनमा भएको दमनका कारण एक महिना पनि नभई सीडीओ पदबाट हटाइएका रिजाल अहिले अख्तियारको राडारमा समेत परेका छन्।
अख्तियारले विशेष अदालतमा पेस गरेको विवरण अनुसार रिजालमाथि भ्रष्टाचारको मुद्दामा विस्तृत अनुसन्धान भइरहेको छ। तत्कालीन मन्त्रीका निजी र स्वकीय सचिवहरूसँगको ‘सेटिङ’, गृहसचिव गोकर्णमणि दुवाडी र विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँगको अस्वाभाविक उठबस तथा अनुसन्धानका क्रममा भेटिएका डायरीका विवरणले रिजालको संकट झनै बढाएको देखिन्छ। यो गिरफ्तारीले राजनीतिक आडमा हुने प्रशासनिक अनियमितता र मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरू कोही पनि सुरक्षित नरहेको संकेत गरेको छ।