नेपाली सेना भन्नेबित्तिकै हाम्रो मानसपटलमा कडा अनुशासन, मार्चपास र सैनिक धुनहरू मात्रै खेल्ने गर्छ। तर, समयसँगै नेपाली सेनाले आफ्नो परम्परागत प्रस्तुतिका सीमाहरू भत्काउँदै युवा पुस्तासँग जोडिने आधुनिक माध्यम रोज्न थालेको छ। यसैको पछिल्लो कडी हो— नेपाली सेनाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको र्याप गीत ‘रेन्जर’।
विशेष तालिम प्राप्त र आक्रामक युद्धकलाका लागि चिनिने सैनिक दस्ता ‘रेन्जर’ को शौर्यलाई सेनाले यसपटक शास्त्रीय वा पुराना सुगम सङ्गीतमा होइन, युवाहरूको ढुकढुकी बनेको ‘र्याप विधा’ मार्फत प्रस्तुत गरेको छ।
सैनिक प्रवक्ताहरूले अक्सर सेना र जनताको सम्बन्ध सुमधुर बनाउने कुरा गरिरहँदा, यो गीतले सोझै डिजिटल प्लेटफर्ममार्फत युवाहरूसँग संवाद सुरु गरेको देखिन्छ।
सैन्य जीवनको गहिराइ बुझेर सिर्जना गरिएको यो गीतका शब्दहरू प्रताप मगरले कोरेका हुन्। गीतको भिडियोलाई जीवन्त बनाउन बासुदेव धिमालले मुख्य निर्देशन र सिद्धार्थ मोक्तानले सहायक निर्देशनको जिम्मेवारी निभाएका छन्। भिडियोमा रेन्जर सैनिकहरूको वास्तविक युद्ध-कौशल र तालिमका दृश्यहरूलाई कलात्मक रूपमा समेटिएको छ।