४ जेष्ठ २०८३, आईतवार

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट उठायो ४५ अर्ब: सर्वसाधारणलाई के हुन्छ असर?


बैंकहरूमा पैसा थुप्रिने तर ऋण नबिक्ने समस्या झन् गहिरिएपछि नेपाल राष्ट्र बैंकले बजारको सन्तुलन मिलाउन शुक्रबार एकैपटक ४५ अर्ब रुपैयाँ खिच्ने भएको छ। वित्तीय प्रणालीमा थुप्रिएको अत्यधिक रकम (अधिक तरलता) का कारण ब्याजदर अनियन्त्रित रूपमा तल नझरोस् भन्नका लागि केन्द्रीय बैंकले ४२ दिने निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट उक्त रकम आफूतिर तान्न लागेको हो।

अहिले नेपाली बैंकहरूमा सर्वसाधारण र उद्योगीले जम्मा गरेको पैसा थुप्रिएर बस्ने तर ऋण लगानी नहुने (अधिक तरलता) समस्या चुलिएको छ। बैंकहरूमा पैसा बढी भएर ब्याजदर धेरै तल नझरोस् र वित्तीय बजार सन्तुलनमा रहोस् भन्नका लागि नेपाल राष्ट्र बैंकले शुक्रबार पुनः बजारबाट ४५ अर्ब रुपैयाँ आफूतिर खिच्ने (निक्षेप सङ्कलन) भएको छ।

केन्द्रीय बैंकले अनलाइन बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट ४२ दिनका लागि यो रकम उठाउन लागेको हो। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकको पैसालाई प्राथमिकता दिएर यो रकम बाँडफाँट गरिनेछ, जसको सावाँ र ब्याज आगामी २०८३ असार १२ गते भुक्तानी हुनेछ।

किन गरिन्छ यसो?

जब बजारमा ऋणको माग कम हुन्छ र बैंकहरूमा पैसा थुप्रिन्छ, तब ब्याजदर निकै सस्तो हुन जान्छ। यसलाई रोक्न राष्ट्र बैंकले आफ्नो कार्यविधिअनुसार ६ महिनासम्मका लागि बजारको पैसा आफैँसँग राख्ने गर्छ। न्यूनतम १० करोडदेखि अधिकतम आह्वान गरेजति रकम बैंकहरूले राष्ट्र बैंकमा राख्न पाउनेछन्। यो कदमले बजारको ब्याजदरलाई सन्तुलित बनाउन र वित्तीय प्रणालीलाई सुरक्षित राख्न मद्दत पुर्‍याउँछ।