४ जेष्ठ २०८३, आईतवार

मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरले गरे पदभार ग्रहण


सञ्चार क्षेत्रको प्रतिष्ठित ब्रान्ड ‘डिस मिडिया नेटवर्क’ (डिसहोम) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा सफल पारी सम्हालेका तारा मानन्धर पुनः आफ्नो पुरानो र बलियो क्षेत्र बैंकिङमै फर्किएका छन्। मुक्तिनाथ विकास बैंक लिमिटेडको सीईओमा नियुक्त भएसँगै मानन्धरले शुक्रबारदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका हुन्।

विभिन्न वाणिज्य बैंकहरूको उच्च व्यवस्थापकीय तहमा लामो समय काम गरेको परिपक्व अनुभव र पछिल्लो समय कर्पोरेट क्षेत्रमा देखाएको अब्बल नेतृत्वका कारण मानन्धरको यो ‘कमब्याक’ लाई बैंकिङ वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

बैंक सञ्चालक समितिले उनको आगमनसँगै संस्थागत सुशासन, रणनीतिक विकास र दिगो बैंकिङ अभ्यासले नयाँ गति लिने ठुलो विश्वास राखेको छ।

पदभार ग्रहण गर्दै नवनियुक्त सीईओ मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्ने, ग्राहक सेवालाई थप उच्चस्तरीय बनाउने र कर्मचारीको मनोबल बढाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

समग्र अर्थतन्त्र चुनौतीपूर्ण रहेको वर्तमान अवस्थामा, डिजिटल र कर्पोरेट क्षेत्र दुवै बुझेका मानन्धरको नेतृत्वले मुक्तिनाथ बैंकलाई देशकै अग्रणी वित्तीय संस्थाको रूपमा स्थापित गर्न कस्तो रणनीतिक फड्को मार्नेछ भन्ने कुरा चासोको विषय बनेको छ।