नेपाल सरकारले ऊर्जा क्षेत्रमा एक ऐतिहासिक र महत्त्वपूर्ण उपलव्धि हासिल गरेको छ। सन् २०१५ मा नेपालको कुल जनसंख्याको मात्र ७४ प्रतिशतमा विद्युतको पहुँच पुगेकोमा, सन् २०२५ (चालु आर्थिक वर्ष) को फागुन मसान्तसम्म आइपुग्दा यो संख्या बढेर ९९.१ प्रतिशत पुगेको छ। यस उपलव्धिले सरकारको ‘सवैका लागि स्वच्छ ऊर्जा’ पुर्याउने दीर्घकालीन लक्ष्यलाई पूर्णता नजिक पुर्याएको छ।
विद्युत पहुँचको विस्तारसँगै नेपालमा प्रतिव्यक्ति ऊर्जा खपतमा पनि उल्लेख्य वृद्धि भएको छ। सन् २०१५ मा प्रतिव्यक्ति ऊर्जा खपत मात्र ८० किलोवाट-घन्टा रहेकोमा पछिल्ला वर्षहरूमा यो बढेर ४५० किलोवाट-घन्टा नाघिसकेको छ। देशका विकट ग्रामीण क्षेत्रसम्म राष्ट्रिय प्रसारण लाइन पुग्नु वा नवीकरणीय ऊर्जाको विस्तार हुनुले नेपालीहरूको जीवनशैली र आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन ल्याएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपालको कुल जडित विद्युत क्षमतामा पनि ठूलो वृद्धि भएको छ। सन् २०१५ मा जलविद्युत क्षमता मात्र ७८२ मेगावाट रहेकोमा अहिले यो बढेर ४,१०५ मेगावाट पुगिसकेको छ। यसले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउनुका साथै छिमेकी देशहरूमा विद्युत निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्नसमेत ठूलो मद्दत पुग्ने देखिएको छ।